विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।  लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९४ रन बनायो । विराटनगरका लागि शाम हेजलेटले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै नरेन भट्टले २१ रन बनाउँदा मर्चान्ट डी ल्याङ्गेले १७ रन जोडे ।

लुम्बिनीका लागि तिलक भण्डारीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रुवेन ट्रम्पलमन, जेजे स्मिथ र अभिषेश गौतमले दुई दुई विकेट लिए । लुम्बिनीका शेर मल्लले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

लुम्बिनीका लागि ड्रार्सी शर्टले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै कप्तान रोहित कुमार पौडेलले ३४ रन बनाउँदा निरोशन डिकोयलाले २९ रन जोडे ।

बलिङतर्फ विराटनगरका लागि सुवाश भण्डारी र प्रतिश जिसीले समान तीन–तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिए ।