डा पुकारलाई बेलायतमा सम्मान

Dr pukarchandra Shrestha
Dr pukarchandra Shrestha

काठमाडौं । मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा प्रसिद्धि कमाएका नेपालका प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले ‘एफआरसीएस’ उपाधि प्रदान गरेको छ। एक विशेष समारोहबीच डा श्रेष्ठलाई फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स ‘एफआरसीएस’ उपाधीसहित सम्मान गरिएको छ ।

बेलायतमा प्रत्यारोपणसम्बन्धी अध्ययन र अनुभव हासिल गरेपछि स्वदेश फर्किएका श्रेष्ठलाई प्रत्यारोपण क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कलेजले सो सम्मान गरेको हो ।

डा श्रेष्ठले वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेका थिए। उनकै पहलमा भक्तपुरको दुधपाटीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको हो, जहाँ उनले ११ वर्ष नेतृत्व गरेर हालै मात्र सेवानिबृत्त भएका हुन् ।

उनको नेतृत्वमा देशभर १ हजार ६ सय भन्दा बढी मिर्गौला प्रत्यारोपण भएका छन् । ९९ प्रतिशत सफलताका साथ प्रत्यारोपण गर्न सफल भएका उनलाई नेपालमा प्रत्यारोपणका पिता मान्न सकिन्छ ।

नेपालमै पहिलो कलेजो प्रत्यारोपण पनि उनकै कारण सम्भव भएको हो। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण, सेवा विस्तार तथा सम्बन्धित कानुन निर्माणमा पनि उनको महत्वपूर्ण भूमिका रहेको छ।

उनी हाल गैर–नाफामूलक संस्थामार्फत प्रत्यारोपण सेवा अझै सुदृढ बनाउने तयारीमा छन्।