मन्त्री पौडेलको घोषणाः सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने 

साउन २९, भक्तपुर 
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै, मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषयलाई समेटिएको जानकारी दिनुभयो। 
 
उहाँले सातवटै प्रदेशमा केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गर्ने योजना रहेको र यो काम कोशी प्रदेशबाट सुरु गरिने बताउनुभयो। भक्तपुरलाई केन्द्र बनाएर अन्य प्रदेशहरूमा पनि अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्न तयारी भइरहेको छ। मन्त्री पौडेलले सीमित जनशक्ति, पूर्वाधार, र स्रोतका कारण हालको सेवामा केही चुनौती भए पनि उपलब्ध स्रोत र जनशक्तिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। 
 
भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गर्ने योजनामा पनि उहाँले चर्चा गर्नुभयो।