
भक्तपुर । भक्तपुरको शैक्षिक इतिहासमा सम्भवतः पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलले आयोजना गरेको यो प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्च बनेको छ।
प्रतियोगिता अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना कथा, अभिनय र सिर्जनालाई अत्यन्त प्रभावकारी तरिकाले प्रस्तुत गरे।
ती प्रस्तुतीमध्ये ऋतम्भरा पाठशालाले उत्कृष्ट नाटक प्रस्तुत गर्दै प्रथम स्थान हात पा-यो। दोस्रो स्थान ईडेन गार्डेनले र तेस्रो स्थान संस्कार गुरूकूलले प्राप्त गरे। सान्त्वना स्थान भने विमल मेमोरियल विद्यापीठले हात पार्न सफल भयो ।
व्यक्तिगत क्षेत्रमा पनि विद्यार्थीहरूले दमदार उपस्थिति जनाए। आरक्षण नेसनल स्कुलकी यूनिशा खत्रीले उत्कृष्ट अभिनय प्रस्तुत गर्दै ‘उत्कृष्ट कलाकार’ को उपाधि हासिल गरिन्।
त्यस्तै, उत्कृष्ट प्रस्तुति—पाथिभरा एकेडेमी, उत्कृष्ट निर्देशन—क्वालिटी स्कुल, उत्कृष्ट सन्देश—यूनिटी स्कुल, उत्कृष्ट मञ्च व्यवस्थापन—जागृति विद्या सदन, उत्कृष्ट कथा—संस्कार गुरूकूल लाई प्रदान गरियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य निर्णायक, वरिष्ठ रङ्गकर्मी केदार श्रेष्ठले विद्यालय स्तरमै यस्तो नाटक प्रतियोगिता आयोजना हुनु साहसिक र प्रेरणादायी कदम’ भएको उल्लेख गर्दै यसको खुलेर प्रशंसा गरे। उनका अनुसार, यस्ता कार्यक्रमहरूले बालबालिका र युवा पुस्तामा कला र सिर्जनशीलता बढाउँछन्।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले नाटक केवल मनोरञ्जन नभई विद्यार्थीको क्षमता विकास गर्ने प्रभावकारी माध्यम भएको बताए।
मदरल्याण्ड स्कुलकी सञ्चालक शर्मिला देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्णायक मण्डलमा प्रसिद्ध नायिका तथा नाटक प्रशिक्षक आरती गौतम र प्रतिभाशाली थिएटर कलाकार एडेन बात्रीले भूमिका निर्वाह गरे।
कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालका अनुसार प्रतियोगितामा प्याव्सनका सल्लाहकार, पदाधिकारी तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।







