भक्तपुर । भक्तपुरको प्राचीन सहर आजदेखि मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) को रौनकले रंगिएको छ। परम्परागत २४ टोलहरूमा यम द्यः (इन्द्र ध्वज) ठड्याइएसँगै यो जात्रा औपचारिक रूपमा प्रारम्भ भएको हो।
एक समय पुरानो नगर क्षेत्रमा सयौँ संख्यामा उभ्याइने यम द्यः गुठीका लागि छुट्याइएका जग्गा र स्रोतहरू हराउँदै गएपछि अहिले थोरै मात्र यम द्यः उठ्ने परम्परा बाँकी रहेको स्थानीय प्रकाश दुवाल बताउँछन् । तर, स्थानीयको आस्था भने अझै कायमै छ ।
जनश्रुतिअनुसार, इन्द्रका छोराले आमा (इन्द्राणी) को व्रतका लागि पृथ्वीलोकमा खाइसी (सुन्तलाजस्तो फल) खोज्न आउँदा बगैँचाका मालिकले उनलाई चोरीको आरोप लगाएर बन्दी बनाए। त्यस घटनाको प्रतीकस्वरूप यम द्यः उभ्याइन्छ भन्ने विश्वास रहँदै आएको छ।
इन्द्रजात्राको दोस्रो दिनदेखि पृथ्वीलोकका राजा मुपात्र (राजा/नरेशको प्रतीक) र उनका गण धिच्छा (सहायक/अनुयायी) हरूले नगरभरिका यम द्यः चाहरुलाई तरवार हानी ‘दण्डित’ गरेको झल्काउने परम्परा छ। यसरी इन्द्रका सन्तानलाई दण्ड दिनु प्रतीकात्मक न्यायको रूपमा प्रचलनमा रहेको पाइन्छ।
जात्राको अन्तिम दिन भने दृश्य पूर्णरूपमा उल्टिन्छ। इन्द्रको बहान ऐरावतको प्रतीक मानिने बाँसको चोयाबाट बनेको पुलु किसी अर्थात् ऐरावत/हात्तीको प्रतीकलाई नगरभरि परिक्रमा गराइन्छ। यसरी नगर देवतासँगै सलाँ गणेश (ठुलो गणेश), छुमा गणेश (सानो गणेश), मान्ड्रो भैरव (पुलु याम्हा भैल द्यः = ऐरावत भैरव) र या मताः (माता देवता) को समेत जात्रा निस्किन्छ।
यो परिक्रमा सम्पन्न भएपछि यम द्यःलाई पृथ्वीलोकको राजाबाट मुक्ति दिइन्छ र भक्तपुरको इन्द्रजात्रा विधिवत् अन्त्य हुन्छ।
भक्तपुरको येन्याँ पुन्ही केवल एक धार्मिक पर्व मात्र नभई सामाजिक, ऐतिहासिक र सांस्कृतिक जीवन्त परम्पराको धरोहर हो। यसले इन्द्रको कथा, न्याय र मुक्ति प्रतीकसँगै समुदायको एकता र सांस्कृतिक समर्पणलाई निरन्तरता दिइरहेको छ।







