मेयरलाई सचेत गराउँदै भक्तपुरका पाँच पत्रकार संगठनको संयुक्त विज्ञप्ति सार्वजनिक

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पत्रकारप्रति सार्वजनिक गरेको अभिव्यक्तिप्रति भक्तपुरमा क्रियाशील पाँच पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्।

चाँगुनारायण नगरपालिकाले आफैं सञ्चालन गर्ने अनलाइन न्यूज पोर्टल चाँगुनारायण समाचार डटकमको आधिकारिक इमेलबाट बिहीबार विभिन्न मिडियामा पठाइएको समाचार सम्प्रेषण भएपछि नगरप्रमुखले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेको भन्दै भक्तपुरका पाँच पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाएका हुन् ।

कार्यक्रमको जानकारी आफैं पठाउने र त्यसैलाई सम्प्रेषण गर्ने पत्रकारहरूमाथि नगर प्रमुखबाट आपत्तिजनक शब्द प्रयोग गर्नु अनुचित र अस्वीकार्य भएको विज्ञप्तिमा भनिएको छ ।

पत्रकार संगठनहरूले नगर प्रमुखजस्तो संवैधानिक पदमा रहेका व्यक्तिहरूले आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन सचेत समेत गराएका छन् ।

साथै, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा नेतृत्व मौन रहँदा पत्रकारहरूको महासंघप्रतिको विश्वासमा कमी आउने सम्भावना रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

संयुक्त विज्ञप्तिमा प्रेस सेन्टर नेपाल भक्तपुर, समाजवादी प्रेस संगठन नेपाल भक्तपुर, जनपत्रकार संगठन नेपाल भक्तपुर, स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष एवं फोनिज भक्तपुरका सचिवले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् विज्ञप्ति 

हस्ताक्षर गर्ने समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश कार्की नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सहसचिव एवं जनपत्रकार संगठनकी अध्यक्ष पुष्पाकुमारी साउद कार्यसमिति सदस्य समेत रहेका प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुंगानाले बताएका छन् ।

त्यस्तै अर्का हस्ताक्षरकर्ता स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेशप्रसाद सैंजु नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य समेत हुन् ।

पत्रकारको पेशागत आचरणमा मेयरले प्रश्न उठाउदाँ पनि नेपाल पत्रकार महासंघ भक्तपुरको नेतृत्वलाई नदुखेकोले आफूहरु संयुक्त विज्ञप्ति सार्वजनिक गर्न बाध्य भएको पाँच संगठनका नेताहरुको संयुक्त भनाइ छ ।

“चाँगुनारायण मन्दिर सुनको कचौरा हो, तर स्थानीयले पित्तल बनाए” भन्ने मेयरको भनाइमा आधारित समाचारको विषयलाई लिएर मेयर जीवन खत्रीले पत्रकारले वियष बङ्याएर लेखेको तथा काखमा राखेर छुरा रोपेको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए ।

पत्रकारहरुको असन्तुष्टि पछि उनले आफ्नो फेसबुक स्टाटस हटाइसकेका छन् ।