
सिन्धुली । सिन्धुली जिल्ला निर्माण व्यवसायी संघको ९औँ जिल्ला अधिवेशनबाट उद्धव दाहाल अध्यक्षमा निर्वाचित भएका छन्।
दाहाल १ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी तुलसीराम श्रेष्ठले ८१ मतमै चित्त बुझाए । ४८ मतान्तरले दाहाल अध्यक्ष निर्वाचित भएका निर्वाचन अधिकृत नारायण बरालले बताएका हुन् ।
अघिल्लो अधिवेशनमा श्रेष्ठसंग पराजित भएका दाहालले यसपटक सोको बदला लिएका छन् । अघिल्लो पटक ३ मतले पराजित दाहालले यसपटक भने उनै निवर्तमान अध्यक्ष श्रेष्ठलाई ४८ मतान्तरले पराजयको स्वाद चखाए ।
सर्वसम्मतको प्रयास असफल भएपछि निवर्तमान अध्यक्ष श्रेष्ठ र दाहाल छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । दाहाल माओवादी केन्द्र निकट निर्माण ब्यवसायी हुन् भने श्रेष्ठ नेपाली कांग्रेस निकट निर्माण ब्यवसायी हुन् ।
निर्वाचनमा दाहाल नेतृत्वको प्यानलले अधिकांश पदमा जीत हात पारेको छ। प्रथम उपाध्यक्षमा फडिन्द्र पोखरेल २ मतको झिनो अन्तरले तेजबहादुर श्रेष्ठलाई हराउँदै निर्वाचित भए । त्यस्तै, द्वितीय उपाध्यक्षमा दिनेशकुमार दाहाल ६५ मतको फराकिलो अन्तरले रमेशकुमार कुवरलाई पराजित गर्न सफल भए। उनीहरू दुबै दाहाल प्यानलका हुन् ।
कोषाध्यक्षमा पनि दाहाल प्यानलका रूमबहादुर राईले ६५ मतको अन्तरमा डिल्लिबहादुर श्रेष्ठलाई हराउँदै सफलता पाए। सचिव पदमा पनि किरण लामाले १६ मतको अन्तरले पवन कटुवाललाई पराजित गर्दै निर्वाचित भए।
सह–कोषाध्यक्ष भने श्रेष्ठ प्यानलका चन्द्रप्रकाश श्रेष्ठले जितेका छन्। उनले प्रतिद्वन्द्वी मनोजकुमार स्यान्तानलाई ४१ मतले पराजित गरे।

विजयी खुला सदस्यहरुमा धन बहादुर थिङ, मदन बहादुर खड्का, दिपक कुमार थापा र सूर्य बहादुर तामाङ रहेका छन् । त्यस्तै महिला सदस्यमा सरिता राई, सुनिता गजुरेल जनजाति सदस्यमा टेक बहादुर मानन्धर र युग बहादुर योन्जन बिजयी बनेका निर्वाचन अधिकृत बरालले बताए ।
नवनिर्वाचित अध्यक्ष दाहालले सबैलाई समेटेर सुदृढ संघ र पेशागत अनुशासन कायम गर्दै निर्माण ब्यवसायीको समस्या समाधान र अवसर खोजी गर्ने साथै, निर्माण ब्यवसायमार्फत समाज र राष्ट्र निर्माणमा समर्पित रहन सबै सदस्यलाई प्रेरित गर्ने प्रतिक्रिया दिएका छन् ।








