छानबिन समितिको निष्कर्ष : देवानगञ्ज र गोलबजारमा सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भयो

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा चार जनाको ज्यान जाने गरी भएका दुखद घटनामा सुरक्षाकर्मीबाटै गोली चलेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ। गृह मन्त्रालयद्वारा गठित दुई अलग-अलग छानबिन समितिले आफ्नो अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउँदै उक्त कुरा सार्वजनिक गरेका हुन्।

साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद र झडपका क्रममा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धान गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको समितिले गरेको हो।

समितिको प्रतिवेदन अनुसार स्थिति नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट कुल २० राउण्ड गोली चलेको पाइएको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर नै तीन जनाको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, कप्तानगञ्ज घटनाको असर सिरहामा समेत फैलिएपछि साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले गरेको छानबिन अनुसार गोलबजारमा प्रहरीको पेस्तोलबाट चलेको गोली लागेर यादवको मृत्यु भएको पुष्टि भएको छ।

त्यहाँ भिड नियन्त्रणका लागि खटिएका इन्स्पेक्टर सुदन केसीको पेस्तोलबाट २ राउण्ड र ७ राउण्ड डमी गोली चलेको पाइएको छ। घटनालगत्तै प्रहरी प्रधान कार्यालयले केसीलाई हटाएर दिपक खरेललाई जिम्मेवारी दिएको थियो।

बाहिरी हतियार प्रयोगको अफवाह खारेज

घटनाका क्रममा प्रदर्शनकारी वा अन्य बाहिरी समूहबाट पनि गोली चलाइएको भन्ने चर्चा चलेको भए पनि छानबिन समितिले त्यसलाई पूर्णतः अस्वीकार गरेको छ। दुवै स्थानमा सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिबाट कुनै पनि हतियार वा गोली प्रयोग नभएको प्रतिवेदनमा स्पष्ट पारिएको छ।

साथै, लहानमा झडप हुँदा सहायक हवल्दार नारद परियारलाई गोली लागेको भनी प्रहरीले गरेको दाबीलाई समेत समितिले खण्डन गरेको छ। छानबिनका क्रममा परियारलाई गोली नलागेको पुष्टि भएको छ।

गृह मन्त्रालयका अनुसार दुवै छानबिन समितिले घटनामा दोषी देखिएका र गैरजिम्मेवार तरिकाले गोली चलाउने सुरक्षा अधिकारीहरूमाथि कडा कारबाही गर्न सिफारिस गरेका छन्। सरकारले यी दुवै घटनामा ज्यान गुमाएका चारै जनालाई यसअघि नै सहिद घोषणा गरिसकेको छ।