संघर्षका लागि तयार रहन प्रचण्डको निर्देशन

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्तालाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्।

मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी देखिएको र राष्ट्रिय स्वाधीनताको विपक्षमा  रहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्व लगायतका राजनीतिक परिवर्तनको मुख्य सुत्रधार आफूहरू रहेको दाबी गर्दै उनले नेपाली कम्युनिस्ट पार्टी र नेतृत्वलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताए। उनले पार्टीका नेता–कार्यकर्तालाई त्यस्ता गतिविधिदेखि  सतर्क र अविचलित रहन आग्रह गरे।

जनताको अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले लाखौँ क्रान्तिकारी नेता तथा कार्यकर्ता भएको पार्टीको नाताले जनताको नेतृत्व गर्दै सडकमा आउन पर्ने प्रष्ट पारे ।

‘प्रतिक्रियावादी जाग्नुअघि नै क्रान्तिकारीहरूले धावा बोल्नुपर्छ,’ प्रचण्डले भने।

देशी–विदेशी प्रतिक्रियावादीको उक्साहटमा संविधान उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै प्रचण्डले संविधान निर्माणका क्रममा भएको सहमतिबाट पछि नहट्न नेपाली कांग्रेसका थापा र देउवा दुवै समूहलाई आग्रह पनि गरे।

सो अवसरमा उनले प्रदेश समितिका सदस्यहरुलाई सपथ ग्रहण समेत गराएका प्रदेश अध्यक्ष सरल सहयात्रीले जानकारी गराए ।