भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुलका विद्यार्थीहरूले शुक्रबार शैक्षिक प्रदर्शनीमार्फत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका छन्।
विद्यालयमा भएको ‘शैक्षिक प्रदर्शनी’मा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले गणित, सामाजिक अध्ययन, कम्प्युटर, विज्ञान र पोषण (न्यूट्रिसन) जस्ता विषयसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेका हुन् ।

प्रदर्शनीमा ढिकी, जाँतो, ठेकी, मदानी, खुकुरीजस्ता परम्परागत प्रविधिदेखि लिएर चालकविहीन ‘टेस्ला’ कारको मोडल र रोबोटसम्म प्रदर्शनमा राखिएको थियो।
विद्यार्थीहरूले गणितका सूत्रहरू जीवनमा कसरी प्रयोग हुन्छन् भन्ने विषयमा ‘ए स्क्वायर माइनस बी स्क्वायर’जस्ता सूत्रको व्यवहारिक प्रयोग देखाएका थिए।
त्यस्तै, टुप्पोबाट फिता प्रयोग गरी उचाइ र दूरी नाप्ने तरिका, प्रविधिको उपयोग र गणितीय अवलोकनमार्फत समस्या समाधानको विधि प्रस्तुत गरिएको थियो।

कम्प्युटर विज्ञानको स्टलमा चालकविहीन गाडीको अवधारणा र रोबोट सञ्चालनको आधारभूत प्रविधि देखाइएको थियो। विज्ञानतर्फ विभिन्न मेशिन मोडलहरू प्रस्तुत गरिएका थिए भने पोषणसम्बन्धी स्टलमा स्वस्थ आहार, जङ्क फुड र पौष्टिक खानेकुराबारे जानकारी दिए ।
सामाजिक अध्ययनका शिक्षक विष्णुचन्द्र गौतमका अनुसार यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारिक जीवनमा जोड्न मद्दत गर्ने मात्र नभई सिर्जनात्मक सोच र अनुसन्धान प्रवृत्तिमा समेत प्रेरित गर्छन्।

सामाजिक अध्ययनको प्रदर्शनीमा नेपालको समाज, भूगोल, संस्कार–संस्कृति, परम्परा, मौलिक हक र प्राकृतिक सम्पदाबारे सामग्री राखिएका थिए। चाँगुनारायण नगरपालिकाको ऐतिहासिक र सांस्कृतिक परिचय झल्काउने वस्तुहरू पनि प्रदर्शनीमा समावेश गरिएका थिए।
प्रदर्शनीमा १५ भन्दा बढी शैक्षिक स्टलहरू राखिएका थिए । जसको अवलोकन अभिभावकहरुले अभिरुचिपूर्वक गरेका सह–प्रधानाध्यापक विनय खड्काले बताए ।अभिभावकहरूलाई विशेष रूपमा आमन्त्रण गरिएको जानकारी दिँदै उनले भने, “प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशीलता मात्र बढाएन, अभिभावकले पनि आफ्ना बच्चाहरूको क्षमताबारे बुझ्ने अवसर पाउनुभयो ।”
प्रधानाध्यापक महेश चन्द्र गौतमले विद्यालयमा सम्पन्न शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले सामाजिक, गणित, कम्प्युटर र पोषण विषयका व्यवहारिक तथा सिर्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेको जानकारी दिएका छन्।
उनका अनुसार सामाजिक विषयमा नेपालको संस्कृति, परम्परा, मौलिक हक, प्राकृतिक र सांस्कृतिक सम्पदाबारे खोजमूलक सामग्री प्रस्तुत गरियो।
गणितमा जीवनसँग सम्बन्धित सूत्र र मापनको प्रयोग, उचाइ तथा दूरी नाप्ने परम्परागत र आधुनिक प्रविधि प्रदर्शन गरियो।
कम्प्युटरमा चालकबिनाको टेस्ला गाडी र रोबोट प्रविधिको अवधारणा देखाइयो भने पोषणमा स्वस्थ आहार, जंक फूड र पौष्टिक खानेकुराबारे जानकारी दिइयो प्रधानाध्यापक गौतमले भने ।
विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले भने, “विद्यार्थीहरूले आफैं तयार पारेका रचनात्मक सामग्रीहरू प्रदर्शन गर्दै आफ्नो क्षमता देखाएका छन्। यो केवल प्रदर्शन होइन, उनीहरूको मेहनत र सोचको प्रमाण हो।”

चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले प्रदर्शनीको अवलोकन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिर्जनसीलता र क्षमता अभिबृद्धि गर्दै भविष्यमा आविष्कार र अनुसन्धानमा अघि बढ्न सहयोग गर्ने विश्वास ब्यक्त गरे ।







