
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ नपली सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयको प्रांगणमा शुक्रबार भनपा–१ महिला समूहको आयोजनामा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम सम्पन्न भयो।
तालिममा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विकासका लागि आधारभूत सीपको तालिम सञ्चालन गर्ने मान्यताअनुरूप तालिमबाट सिकेको सीप टोल समुदायको निम्ति प्रयोग गर्नुपर्ने बताउँदै, ख्वप अस्पतालसँग समन्वय गरेर नपलीमा रहेको स्वास्थ्य चौकीको स्तर उन्नतिसहित विशेषज्ञ सेवाको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।

खत्रीले वडाबाट सञ्चालन भइरहेका विभिन्न क्रियाकलापको जानकारी दिँदै नपलीस्थित इसानेश्वर महादेवको निर्माण पूर्णताका लागि स्थानीय उपभोक्ता समितिले छलफल र सरसल्लाहमार्फत काम गरिरहेको उल्लेख गरे।
प्रशिक्षक रमिता चौगुठीले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर तालिम लिनुपर्नेमा जोड दिइन्। वडा सदस्य सुर्यप्रसाद श्रेष्ठले पनि कार्यक्रमको महत्वबारे धारणा राखे।
भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा भएको तालिममा टोलका ३० जना महिलाले सहभागिता जनाएका बताइएको छ ।







