
काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा ‘यौम-ए-इस्तेहसाल: राजनीतिक तथा मानवीय परिणाम’ शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक डारका सन्देशहरू वाचन गरियो।
राष्ट्रपति जरदारीले भारतद्वारा जम्मु कश्मीरमा गरिएको जनसांख्यिकीय तथा राजनीतिक हेरफेर, मिडियामाथिको दमन र व्यापक गिरफ्तारीको विरोध गर्दै, उक्त क्षेत्रको शान्तिका लागि संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार समाधान अपरिहार्य रहेको बताए।
प्रधानमन्त्री शरीफले सन् २०१९ अगस्ट ५ देखि भारतले अवैधानिक रूपमा नियन्त्रण गरेको जम्मु कश्मीरको अवस्थालाई स्मरण गर्दै मानवअधिकार उल्लंघनको कडा भर्त्सना गरे। उनले अन्तर्राष्ट्रिय समुदायलाई भारतलाई जवाफदेही बनाउन आह्वान गरे।
उपप्रधान तथा विदेशमन्त्री डारले भारतले एकतर्फी रूपमा कश्मीरको विवादित हैसियत परिवर्तन गर्न खोजेको भन्दै अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताए।
राजदूत अबरार एच. हाश्मीले कार्यक्रममा बोल्दै शान्तिको स्थायीत्वका लागि कश्मीर मुद्दाको न्यायसंगत समाधान अपरिहार्य रहेको उल्लेख गरे। उनले भारतको आक्रामक रवैयाको आलोचना गर्दै हालैको तनावले दक्षिण एशियाको स्थायित्वमा असर पार्ने बताए।
कार्यक्रममा पत्रकार, लेखक, विश्लेषक तथा मानवअधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले भारतको एकतर्फी कदमको आलोचना गर्दै कश्मीरी जनताको पीडाबारे आवाज उठाउनुपर्नेमा जोड दिएका नेपालस्थित पाकिस्तान राजदुतावासले जनाएको छ ।
उनीहरूले नेपाल सरकारलाई पनि भारत-पाकिस्तानबीचको विवाद समाधानमा सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरे। दुई छिमेकी देश भारत-पाकिस्तान बीच मध्यस्थता गरि विवाद मिलाउन सरकारलाई सुझाव दिइएको एक सहभागीले जानकारी दिएका हुन् ।







