इरानविरूद्ध इतिहासकै भयानक आर्थिक युद्ध सुरू गर्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध इतिहासकै भयानक ‘आर्थिक युद्ध’को घोषणा गरेका छन्।

बुधबार ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले अमेरिकासँग सम्झौता गर्ने ठूलो अवसर इरानले गुमाएको भन्दै ऊविरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक युद्ध सुरू गर्ने घोषणा गरेका हुन्।

‘इरानलाई कुनै सम्झौता गर्ने योभन्दा ठूलो अवसर कसैले दिएको थिएन, जुन मैले दिएको थिएँ। तर दुःखको कुरा, उनीहरूले यो अवसर गुमाए,’ ट्रम्पले लेखेका छन्, ‘त्यसैले इरानविरूद्ध आज म कुनै पनि देशविरुद्ध इतिहासकै सबैभन्दा कडा र ठूलो आर्थिक कारबाहीको घोषणा गर्दैछु।’

उनले इरानविरूद्धको कारबाही अहिलेसम्म कहिल्यै नदेखिएको स्तरको आर्थिक युद्ध र नाकाबन्दी हुने बताएका छन्। इरानको नौसेना र वायुसेना धराशयी भइसकेको दाबी गर्दै ट्रम्पले सैन्य हतियार कारखानाहरू पनि भग्नावशेषमा परिणत भइसकेको बताए। इरानी मुद्रा पनि काम नलाग्ने स्थितिमा पुगेको बताउँदै समग्रमा देश नै नाजुक स्थितिमा रहेको ट्रम्पले बताएका छन्।

उनले इरानमाथि आर्थिक युद्धको घोषणासँगै कुनै देशले उसलाई सहयोग गरे ती देशहरूले पनि कारबाही भोग्नुपर्ने चेतावनी दिए। ‘आज म यो पनि घोषणा गर्छु कि—जुनसुकै देशका बैंक, व्यापार-व्यवसाय, विमानस्थल वा सरकारी निकायले इरानलाई कुनै पनि किसिमको मद्दत वा राहत दिन्छन् भने उनीहरू आफैंले ठूलो आर्थिक नोक्सानी र परिणाम भोग्नुपर्नेछ,’ ट्रम्पले भनेका छन्।

तेलको तस्करी, पैसाको लेनदेन, हुन्डी/साटोही, पानीजहाज दर्ता, वा नक्कली कम्पनीहरू तत्काल बन्द गर्न ट्रम्पले चेतावनी दिएका छन्। ‘जजसले यो गरिरहेका छन् उनीहरूलाई परिणाम के हुन्छ भन्न राम्ररी थाहा छ,’ ट्रम्पले लेखेका छन्।

इरानबाट खतरामुक्त हुन र उसलाई एक्ल्याउनका लागि सबै मित्रराष्ट्रहरू अमेरिकाको पक्षमा उभिनुपर्ने ट्रम्पले बताएका छन्। ‘सन्कीहरू अब हारको संघारमा छन्। हाम्रा ऐतिहासिक कदमहरूले उनीहरूलाई पूर्ण रूपमा थला पार्नेछन्। ताकी उनीहरूले संसारभरि त्रास फैलाउन नसकुन्,’ ट्रम्पले लेखेका छन्।

अन्तिममा उनले इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नहुनेमा जोड दिएका छन्। इरानविरूद्ध आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको यो पहिलो घोषणा भने होइन।

उनको प्रशासनले अप्रिलदेखि ‘अपरेसन इकोनोमिक फ्युरी’ नाम दिएर तेहरानलाई अन्तर्राष्ट्रिय आर्थिक प्रणालीबाट अलग्याउने र उसको आम्दानीका स्रोत रोक्ने अभियान चलाउँदै आएको छ। अमेरिकाले यसअघि नै इरानको तेल, समुद्री ढुवानी र वित्तीय क्षेत्रमाथि व्यापक प्रतिबन्ध लगाइसकेको छ।

त्यसका साथै अमेरिकाले इरानी बन्दरगाहतर्फ जाने समुद्री आवागमनमा नाकाबन्दी लगाएको छ भने इरानी तेल विदेशमा बिक्री गर्न सहयोग गरेको आरोप लागेका कम्पनी, ब्रोकर र तेल ट्यांकरमाथि पनि कारबाही गरेको छ।

ट्रम्पको पछिल्लो घोषणाप्रति इरानी अधिकारीहरूको तत्काल प्रतिक्रिया आएको छैन। इरानको सरकारी प्रसारण आइआरआइबीले भने ट्रम्पको घोषणालाई सैन्य आक्रमणमा असफलतापछिको प्रतिक्रिया भनेको छ।

इरानकै अर्धसरकारी तस्निम समाचार एजेन्सीले ट्रम्पको यो घोषणा नयाँ नभएको बताएको छ। तस्निमले तेहरानले अमेरिकी प्रतिबन्धबाट बँच्ने उपाय सिकेर पनि त्यसमा दक्ष भइसकेको दाबी गरेको छ।

ट्रम्पको घोषणा चीनका लागि चुनौती बन्न सक्ने भनेर कतारी मिडिया अल जजिराले लेखेको छ। चीन इरानी तेलको सबैभन्दा ठूलो आयातकर्ता हो।

यद्यपि उसले तेल आयात गर्ने आफ्ना कम्पनीहरूलाई अमेरिकी प्रतिबन्धमा सहयोग नगर्न भनिसकेकाले ट्रम्पलाई आफ्नो घोषणा कार्यान्वयन गर्न चुनौती हुने भनेर अल जजिराले लेखेको छ।