पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्लाहीको लालबन्दी-१५ र १६ मा पर्ने बोहोरे डाँडामा निर्माण गरिएको मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवन उद्घाटन उद्घाटन गरेका छन् ।
सो क्षेत्रकी मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माण गरिएको सो संरचना शनिवार उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टी निर्माणमा सस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै पुष्पलालको त्याग, विचार र सङ्घर्षको उच्च प्रशंंशा गरे ।
उनले पुष्पलाललाई पार्टीमा सीमित नगरी राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान दिलाउनुपर्ने आवश्यकता औल्याए । त्यस्तै , भवन परिसरमा अन्य पार्टीका जनप्रिय नेताहरूको शालिक बनाउन पनि उनले सुझाव दिए । जनताको लागि राजनीति गर्नेहरु जनताका साझा नेता भएका उनको भनाइ छ ।
पानी व्यवस्थापनमा गम्भीर बन्नपर्नेमा जोड दिदै पूर्वप्रधानमन्त्री नेपालले मधेशमा बढ्दो सुख्खा संकटप्रति चिन्ता व्यक्त गरे।
उनले भने, “मधेशलाई सुख्खाबाट जोगाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले हातेमालो गरेर काम गर्न आवश्यक छ।”
त्यसक्रममा उनले वर्षाको पानी चुरेमै सन्चय गरेर राख्नपर्नेमा जोड दिए। “तुरुन्तै बगेर समुन्द्रसम्म पुग्ने पानीलाई रोकेर प्रयोगमा ल्याउन सरकारले दीर्घकालीन योजना बनाउन जरुरी भैसकेको छ।” उनले प्रष्ट पारे ।
जलस्रोतको संरक्षण र सिचाइको पर्याप्तता नै मधेश प्रदेश समृद्धिको आधार भएको र यसका लागि आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीले पुष्पलालको विचार, संघर्ष र योगदानलाई संस्थागत रूपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रयास गरिएको बताइन् ।
सो अवसरमा पुष्पलाल स्मृति भवनको प्रचारप्रसारमा सहयोग गरेवापत लालबन्दी मिडिया ग्रुपलाई सम्मान समेत गरिएको थियो ।
पुष्पलाल स्मृति प्रतिष्ठान, मधेश प्रदेश शाखाको आयोजना तथा जिल्ला शाखा, सर्लाहीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी, युवा र स्थानीय बासिन्दाहरू उत्साहपूर्वक सहभागि भएका थिए ।







