सालको रुख ढल्दा दुईको निधन, तीन बालबालिका घाइते

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो अचानक आएको हावाहुरीसहितको मुसलधारे वर्षाले ठूलो दुर्घटना निम्त्याएको छ।

वर्षाबाट जोगिन नजिकैको गोठमा आश्रय लिएका किशोर–किशोरी तथा बालबालिकामाथि सालको रुख ढल्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोले रहेको प्रहरीले जनाएको छ। रुखले च्यापिएर घटनास्थलमै दुबै जनाको ज्यान गएको हो।

यस दुःखद घटनामा १४ वर्षीया सिर्जना माया गोले, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको बताइएको छ।

विद्यालय बिदा भएकोले बालबालिका गाईबस्तु चराउन जङ्गल गएकाबेला दुर्घटना भएको हो ।

सिन्धुलीका प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनले घटनाप्रति गहिरो दु:ख ब्यक्त गर्दै सरकारसंग मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उपचारको ब्यवस्था मिलाउन माग गरेका छन् ।