
भक्तपुर । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ ।
कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त पहलमा कार्यक्रम गरिएको हो।
समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा एफएओ नेपालका प्रमुख केन शिमिजु, कृषि सचिवहरू गोविन्द शर्मा र दीपक खराल, नार्कका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद तिम्सिना, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, किसान नेता विजय लामा, कृषि विज्ञ, पत्रकार तथा सयौं स्थानीय कृषकहरूको उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले स्वस्थ रहनका लागि हरेक नेपालीले दैनिक एक छाक कोदोको परिकार खानुपर्ने बताए । “हामी अहिले उपचार गर्न सक्छौं, तर हाम्रो भविष्यको सन्तति रोगी भएर जन्मिन सक्छन्,” मन्त्री अधिकारीले भने, “त्यसैले एक छाक कोदोको परिकार भान्सामा समावेश गर्नु स्वस्थ जीवनको सुनिश्चितता हो ।”
उनले कोदो खेतीलाई आयआर्जनसँग पनि जोड्न सकिने भएकाले यसको प्रवद्र्धनमा किसान, नीति निर्माता र सरोकारवालाहरू एकजुट हुनुपर्ने धारणा राखे ।
अध्यक्ष सञ्जेलले सरकारले कोदोलाई रणनीतिक बालीका रूपमा प्राथमिकता दिँदै दिवसको घोषणा गरेको स्पष्ट पारे । उनले कोदो प्रवद्र्धनमा सक्रिय भूमिका खेलेकोमा अनाज र राष्ट्रिय कृषक समूह महासङ्घलाई धन्यवाद दिए । उनले आगामी दिनमा कोदो प्रवद्र्धनका लागि मन्त्रालयबाट अझ प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।
रैथाने बाली विज्ञ तथा मन्त्रालयका सह–सचिव डा. रामकृष्ण श्रेष्ठले कोदोलाई जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवद्र्धन गर्नु सरकारको ऐतिहासिक र दूरदर्शी निर्णय भएको बताए । उनका अनुसार कोदो खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र पर्यावरणमैत्री खेतीका हिसाबले पनि विशेष महत्त्व राख्दछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि सचिव शर्माले कोदोलाई हेपिएको बालीका रूपमा लिने मानसिकता रहेको भए पनि पछिल्लो समय यसको पोषणीय, पर्यावरणीय र आर्थिक मूल्यबारे जनचेतना बढ्दै गएको बताए । “विश्वमै कोदो अब सर्वश्रेष्ठ अन्नका रूपमा स्वीकारिन थालेको छ,” उनले भने ।
चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले पहिलो राष्ट्रिय कोदो दिवस आफ्नो नगरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै कोदो जस्ता परम्परागत बालीलाई नगरस्तरबाटै प्राथमिकता दिइने प्रतिबद्धता जनाए ।
“कृषि, पर्यटन र सामाजिक पूर्वाधार हाम्रो नगरको मूल आधार हो,” खत्रीले भने, “कोदोको उत्पादन पहिले उच्च थियो तर लागत बढी हुने र बजार नपाउने समस्याका कारण पछिल्लो समयमा घटेको थियो । अब हामी यसलाई पुनः प्रमुख बालीका रूपमा स्थापित गर्नेछौँ ।”
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. तिम्सिनाले कोदोको माग दिनप्रतिदिन बढिरहेको जनाउँदै बालीचक्रमा कोदोलाई समावेश गर्दै जानुपर्ने आवश्यकतामा जोड दिए । उनले नार्कले कोदोबारे अनुसन्धानलाई उच्च प्राथमिकता दिइरहेको जानकारी दिँदै निजी क्षेत्रलाई पनि अनुसन्धानमा लाग्न आग्रह गरे ।
कार्यक्रममा एफएओ नेपाल तथा भुटानका प्रमुख केन शिमिजुले कोदो बाली प्रवद्र्धनका लागि एफएओको सहयोग निरन्तर जारी रहेको बताए । “सन् २०२३ मा संयुक्त राष्ट्रसंघले कोदोलाई अन्तर्राष्ट्रिय बालीका रूपमा घोषणा गरेपछि हामी थप प्राथमिकताका साथ यसबारे काम गरिरहेका छौँ,” उनले भने, “नेपाल सरकारले कोदो दिवस घोषणा गर्नु खुशीको कुरा हो। एफएओले आगामी दिनमा पनि सहयोग र साथ निरन्तर दिनेछ ।”
स्थानीय कृषक तथा राष्ट्रिय कृषक समूह महासंघका बागमती प्रदेश अध्यक्ष लामाले पहिले हेपिएको कोदो अहिले धनी वर्गले खोजी खोजी खाने बालीमा परिणत भएको उल्लेख गर्दै चाँगुनारायण क्षेत्रमा यसको खेती घट्दै गएकाले पुनः प्राथमिकतामा राखेर खेती विस्तार गरिने बताए । कोदो दिवस ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारासहित मनाइएको हो।
कार्यक्रमको औपचारिक सत्रपछि अतिथिहरूले कार्यक्रमस्थल नजिकै रहेको बारीमा कोदो रोपेर दिवसलाई मनाएका थिए ।
समारोहमा कोदो प्रवद्र्धनमा योगदान पु¥याउने संस्था र व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। कोदो व्यवसायमा महिलाहरूको सक्रिय सहभागितालाई सम्मान गर्दै ‘कोदाली भेन्चर’ लाई विशेष सम्मान प्रदान गरिएको थियो। यस्तै, राष्ट्रिय कृषक समूह महासङ्घ र अनाजलाई कोदो प्रवद्र्धन अभियान सञ्चालन गरेबापत कदरपत्र प्रदान गरिएको थियो ।
यस्तो छ कोदो तथ्यांक
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा २ लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिई ३ लाख ७३२ मेट्रिक टन उत्पादन भएको छ ।
तथापि प्रति हेक्टर उत्पादकत्व भने १.३३ मेट्रिक टनमा सीमित रहेको छ। विज्ञहरूका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ ।
तर आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरेको छ भने निर्यात जम्मा ७० मेट्रिक टन मात्र गरिएको छ ।
पाँच पत्रकार पुरस्कृत
राष्ट्रिय कोदो दिवसको अवसरमा, ‘कोदो समाचार लेखन पुरस्कार – २०८२’ अन्तर्गत पत्रकारहरूलाई पनि पुरस्कृत गरिएको छ ।
आयोजक संस्था अनाजले सातै प्रदेशका पत्रकारहरूलाई समाचार सामग्री उपलब्ध गराई सहभागीता जनाउन आह्वान गरेको थियो । आवेदन परेकामध्ये पाँज जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको अनाजले जनाएको छ ।
पुरस्कृतहरूको नाम कोदो दिवस मुल समारोहमा घोषणा गरिएको हो । जस अनुसार जुम्ला र कर्णाली प्रदेश केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका कर्णालीमिसन डटकमका संवाददाता सागर परियारलाई ‘सर्वोकृष्ट पत्रकार’ पुरस्कारबाट पुरस्कृत गरिने भएको हो ।
बिजमाण्डू डटकमकी संवाददाता सरला सुवेदी र कारोबार दैनिककी संवाददाता कोशिला कुँवर ‘उत्कृष्ट पत्रकार’का रूपमा पुरस्कृत हुने भएका छन् । सुर्खेत र कर्णाली प्रदेश केन्द्रमा राखेर पत्रकारिता गरिरहेका नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुराको रेडियो अमरगढीकी कार्यक्रम संयोजक भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिने भएको हो ।
गत वर्षदेखि अनाज पहलकदमीमा कोदोजन्य बालीमा कलम चलाउने पत्रकारहरू पुरस्कृत गर्न थालिएको हो । पुरस्कृत पत्रकारलाइ पछि छुट्टै कार्यक्रम गरेर पुरस्कार उपलब्ध गराइने भएको छ ।
गत वर्ष पनि ६ जना पत्रकार पुरस्कृत भएका थिए । जसमा हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेल,अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा,मदन पौड्याल,आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युजडटकमा संवादता रबि थापा र रातोपाटीडटकमकी संवाददाता सरिता थारुलाई कोदो समाचार लेखन प्रोत्साहन पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
गत वर्षसम्म अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो। राष्ट्रिय दिवसको रूपमा स्थापना भएपछि कोदोलाई अझ संस्थागत र वैज्ञानिक रूपमा प्रवद्र्धन गर्न सकिनेमा सहभागीहरूले विश्वास व्यक्त गरेका छन् ।
रातो कोदो प्रवर्धन गर्ने किसान पुरस्कृत
जुम्लामा रहेर रातो कोदो प्रवर्धन तथा कर्णालीमा उपलब्ध कोदोका बिउहरू संरक्षण गर्ने किसान कविता जौसीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । कार्यक्रममा कृषिमन्त्री अधिकारीले प्रमाणपत्र र नगद १५ हजार सहित सम्मान गरेका हुन् ।







