काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहाल (राजन दाहाल) ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएसंगै सांसद राजन दाहाल प्रचण्डको पक्षमा उत्रिएका थिए ।
त्यसपछि उपमहासचिव शर्मा समर्थकले दाहालको विषयमा बिभिन्न टिका टिप्पणी गरेपछि उनले त्यसलाई अनर्गल र भुठो प्रचार भनी प्रतिवाद गरेका हुन् ।
बिगतको घटनाको यथार्थ नबुझी कतिपयले आधारहीन सामग्रीलाई समाचारको रूपमा प्रस्तुत गरेको भन्दै पार्टीको जनयुद्धकालीन नेता समेत रहेका सांसद दाहालले आपत्ति जनाएका छन् ।
जनयुद्धको समयमा आत्मसमर्पण गरेको भन्दै आफ्ना बिरोधीले भ्रामक प्रचार गरेको उनको भनाइ छ ।
सांसद दाहालका अनुसार माओवादी जनयुद्धको बेला वि.सं. २०५३ साल माघ १ गते सिन्धुलीगढी प्रहरी चौकी आक्रमणको बिषयलाई लिएर हातहतियार खरखजाना सम्बन्धी मुद्दामा सिन्धुली, काठमाडौं र बीरगञ्ज जेलमा सजाय भोगेर दाहाल २०५५ चैत २७ मा २ वर्षको जेल सजाय र ६ हजार जरिवाना भोगेपछि आफ्ना बुबा लिलानाथ दाहालको रोहबरमा थुनामुक्त भएका थिए ।
त्यसपछि उनले आफू पार्टीले खटाएको र जिम्मेवारी दिएको स्थानमा खटिएको स्पष्ट पारे । तर, दाहाल जेलमुक्त भएको घटनालाई अहिले आएर बिरोधीले आत्मसमर्पण गरेको भनेर हल्ला फैलाएको उनको भनाई छ ।
दाहालले हाल पार्टी अनुशासन उल्लंघन र शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाही परेका केही व्यक्तिहरूले उक्त पुरानो घटनालाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक स्टाटस लेखेर बदनाम गर्ने प्रयास गरिरहेका प्रतिक्रिया दिएका छन् ।
उनले ती स्टाटसहरूलाई आधार मानेर समाचार बनाएको र आफूलाई घटनाबारे सोध्ने वा स्पष्ट पार्ने मौका नदिएकोप्रति गम्भीर आपत्ति प्रकट गरे ।
“यस्ता भ्रामक प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सबैलाई सत्य बुझ्न र यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।” उनले भने ।






