सिन्धुली । भ्रष्टहरुले राजिनामा दिदैँँ जाने हो भने केपी ओली नेतृत्वको मन्त्री परिषद खाली हुने संविधान सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन दाहाल) ले कटाक्ष गरेका छन् ।
घुस लिएको सम्बन्धि अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने राजिनामा नदिएको प्रसङ्गमा सांसद दाहालले आक्रामक टिप्पणी गरेका हुन् ।
७८ लाख भन्दा कम ३२ लाख घुस खाएको हुनाले त होला नी राजिनामा नआएको भन्दै उनले व्यंग्य गरेका छन् ।
राजीनामा विषय:
७८ लाख घुस खाएको अडियो क्लिप सामाजिक सञ्जालमा समेत भाइरल भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्, तर भूमि ब्यवस्था मन्त्री बलराम अधिकारीले अहिलेसम्म राजीनामा दिएका छैनन् ।
सार्वजनिक अडियो क्लिप अनुसार मन्त्री अधिकारीले आफ्नो छोरा मनोज अधिकारीमार्फत ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।
मन्त्री अधिकारीले भने जाड खुवाएर अडियो बनाएको भन्दै असन्तोष ब्यक्त गर्नुका साथै आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।
अडियोमा घुस खाएको आरोप लागेका दुबैजना नेकपा एमालेका सांंसद हुन् ।
भ्रष्टाचारको गम्भीर आरोप लागेका मन्त्रीहरुका कारण वर्तमान ओली सरकार बदनाम बन्दै गएको छ । सामाजिक सञ्जालमा नागरिक तहबाट पनि व्यापक असन्तुष्टिहरु पोखिएका छन् ।







