सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि बन्यो राष्ट्रपति रनिङ शिल्डको बिजेता

सिन्धुलीको सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि राष्ट्रपति रनिङ शिल्डको बिजेता बनेको छ । गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० माविलाई पछि पार्दै वडा नम्बर ६ अमारेस्थित ग्रामकाली मावि बिजेता बनेको हो ।

प्रतियोगितामा समावेश खेलका ३० बिधामा ग्रामकालीले ८ स्वर्ण, ४ रजत र ४ कास्यगरी १६ पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक दिपक घिमिरेले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक मिलनकुमार दाहालले विद्यार्थीको लगाव र विद्यालयको लगानीले उपलब्धि हासिल भएको बताएका छन् । प्रशिक्षक यज्ञप्रसाद रिमालले प्राप्त उपलब्धि जोगाइराख्न थप क्रियाशील रहने प्रतिवद्धता प्रकट गरे ।

प्रतियोगितामा ज्वालादेवी मावि, बालुवा द्वितीय र कुशेश्वर मावि दुम्जा तृतीय भएका छन् ।

प्रतियोगिताको समापन एवं बिजेतालाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले खेल क्षेत्रको बिकासले खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन् । विद्यार्थीको स्वास्थ्यको लागि पनि खेलकुदको महत्व रहेकोले विद्यालयहरुले खेलकुद गतिविधिलाई महत्वका साथ अघि बढाउनु पर्ने बताउँदै उनले पालिकाले खेलकुदलाई महत्व दिएर बजेटको ब्यवस्था गरेको पनि बताइन् ।

राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भने प्रतिनिधि सभा सदस्य राजन दाहालले गरेका थिए । यस्ता प्रतियोगिताले सानै उमेर देखि खेलप्रति लगाव बढाउने उनको भनाइ छ । भविष्यमा राम्रा खेलाडी उत्पादन गरेर गाउँको नाम देश र बिश्वभर फैलाउन यस्ता प्रतियोगिता आवश्यक रहेको उनले बताएका थिए ।

पुस २६ गते बाट शुरु प्रतियोगिता ३ दिनसम्म चलेको थियो ।