भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लिजमा दिन सहमति भएको ३१ रोपनी जग्गा लिन आलटाल गरेको भन्दै गुनासो गरेका छन्।
बुधबार वडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष धिमालले अस्पतालले सेवा विस्तारका लागि २०७७ सालमा जग्गा माग गरेको र नेपाल सरकारको निर्णयबाट लिजमा दिने प्रक्रिया पूरा भए पनि अस्पतालले अहिलेसम्म चासो नदेखाएको बताए।
वडाध्यक्ष धिमालका अनुसार चाँगुनारायण नगरपालिका र स्वास्थ्य मन्त्रालयको सहमतिमा थानाको पाखास्थित ३१ रोपनी ७ आना सार्वजनिक जग्गा अस्पताललाई लिजमा दिने निर्णय भएको थियो। सम्झौतापश्चात अस्पतालले जग्गा धनी प्रमाणपत्रसमेत लिइसकेको छ। उनले भने, “जग्गा लिएर अस्पताल निर्माणको कार्य अघि बढाउने प्रतिबद्धता जनाए पनि अस्पताल प्रशासनले अहिले आएर भिरालो र टाढा भएको कारण देखाएर आलटाल गरिरहेको छ।”
अस्पतालको सेवा हाल भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीको साँघुरो भवनबाट सञ्चालन हुँदै आएको छ। अस्पतालले स्थान अभावका कारण सेवा विस्तारमा समस्या भइरहेको बताउँदै आएको छ।
वडाध्यक्ष धिमालले जग्गा अस्पतालको माग अनुसार दिइएको भए पनि अस्पतालले निर्माण कार्य अघि नबढाउँदा स्थानीयस्तरमा गुनासो बढेको उल्लेख गरे। उनले स्वास्थ्य मन्त्रालय र नेपाल सरकारलाई निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन्।
उता, अस्पताल प्रशासनले भने प्रस्तावित जग्गा भौगोलिक हिसाबले असुविधाजनक भएकोले लिन नसकेको जनाएको छ। उक्त जग्गा अस्पतालको वर्तमान स्थानबाट करिब पाँच किलोमिटर उत्तर पुर्बमा रहेको छ।
पत्रकार सम्मेलनपछि वडा अध्यक्षले पत्रकारहरूलाई उक्त जग्गाको अवलोकन भ्रमणसमेत गराएका थिए।