इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्।
उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्।
ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल
मा घोषणा गरेका थिए कि अमेरिका र पाकिस्तानबीच एक महत्वपूर्ण सम्झौता भएको छ, जसअनुसार दुबै देशले पाकिस्तानको विशाल तेल भण्डारको संयुक्त विकासमा सहकार्य गर्नेछन्।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,“ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौतालाई अन्तिम रूप दिन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमिकाका लागि म धन्यवाद दिन चाहन्छु। यो सम्झौता हिजो राति वाशिंगटनमा दुबै पक्षलेसफलतापूर्वक सम्पन्न गरेका हुन्। यसले हाम्रो बढ्दो सहयोगलाई अझ मजबुत बनाउनेछ र दीर्घकालीन साझेदारीको आधार विस्तार गर्नेछ।”
पाकिस्तानका सरकारी सञ्चालित रेडियो पाकिस्तानका अनुसार, पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेबले अमेरिकाका वाणिज्य सचिव हावर्ड लुटनिक तथा अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरसँग वाशिंगटन डीसीमा बैठक गरी सम्झौतालाई अन्तिम रूप दिएका थिए।
पाकिस्तानको तटीय क्षेत्रहरूमा तेलको सम्भावित भण्डार रहेको छ, तर प्रविधिको अभाव र लगानीको न्यूनताका कारण ती स्रोतहरू हालसम्म प्रयोगमा आउन सकेका छैनन्। अहिले पाकिस्तान आफ्नो उर्जा आवश्यकताको अधिकांश भाग पश्चिम एसियाबाट तेल आयात गरेर पूर्ति गर्दै आएको छ।
ट्रम्पले लेखेका छन्,
> “हामीले भर्खरै पाकिस्तानसँग एउटा सम्झौतामा हस्ताक्षर गरेका छौं, जसअन्तर्गत पाकिस्तान र अमेरिकाले आफ्नो विशाल तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्। हामी अब साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनोट गर्ने प्रक्रियामा छौं। कसलाई थाहा छ, एक दिन उनीहरूले भारतलाई पनि तेल बेच्न सक्छन्।”
यस सम्झौताको मुख्य उद्देश्य भनेको दुई देशबीचको व्यापार प्रवर्द्धन, लगानी आकर्षण, बजार पहुँच विस्तार तथा पारस्परिक हितका क्षेत्रमा दीर्घकालीन सहकार्य सुनिश्चित गर्नु रहेको छ।
विश्लेषकहरूका अनुसार, यस सम्झौताले पाकिस्तानको उर्जा आत्मनिर्भरता तर्फको यात्रालाई गतिको साथ अघि बढाउने छ भने अमेरिका र पाकिस्तानबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धमा नयाँ युगको सुरुआत गर्नेछ।







