मध्यपुर थिमिमा दुई किशोरी दिदीबहिनी मृत फेला

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित सिन्टिटारमा दुई किशोरीहरु मृत फेला परेका छन् । उनीहरू नातामा दिदीबहिनी हुन् ।

बिहीबार बिहान करिब पौने ७ बजे सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ स्थायी घर भई हाल बोडे सिन्टिटारमा डेरा गरी बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल आफ्नै डेराकोठाको भुइँतलामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी ढुण्डिराज नेउपानेले बताए ।

प्रहरी वृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुङ्गानाले दिएको जानकारी अनुसार मृतक दिदीबहिनी १५ दिनदेखि सिन्टिटारमा डेरा गरी बस्दै आएका थिए । भागेर भक्तपुर आएका उनीहरूका बुबाआमा वैदेशिक रोजगारीमा भारतमा रहेको खुलेको छ ।

घटना आत्महत्या वा, हत्या भन्ने यकिन गर्न र सोको कारण पत्ता लगाउन प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

मृतक परिवार सम्पर्कमा आएपछि आवश्यक मुचुल्का र पोस्टपार्टम कार्य गरिने र त्यसपछि थप अनुसन्धान अघि बढ्ने डिएसपी ढुङ्गानाले बताएका छन् ।

स्थानीय बासिन्दा र छिमेकीहरू यो घटनाबाट स्तब्ध भएका छन्। किसोरावस्थामै एकसाथ मृत भेटिएका दिदीबहिनीको शवले सामाजिक चिन्ता बढाएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय कृष्ण श्रेष्ठले पनि घटनाबारे चिन्ता र चासो ब्यक्त गरेका छन् ।