गथांमुगः चह्रे – आदिम संस्कृति झल्कने चेतनाप्रधान पर्व

भक्तपुर । वर्षा ऋतुमा खेतीपाती तथा रोपाइँमा व्यस्तताका कारण सरसफाइको क्षेत्रमा अपेक्षित ध्यान दिन सकिंदैन। त्यसैले विभिन्न प्रकारका शारीरिक समस्या देखिनु स्वाभाविक हुन्छ। परम्परागत सामाजिक जनजीवनमा यस्ता शारीरिक समस्याहरूलाई भूत–प्रेतको असर ठानिने धारणा व्याप्त थियो।

रोपाइँको काम सकिएपछि एकदिन परिवारका सबै सदस्यले स्नान गरी शरीर शुद्ध पारिन्छ। त्यही दिन घरघरमा हालै काटिएको गहुँको छ्वाली बालेर धुवाँ लगाइन्छ, जसको माध्यमबाट घरका कुना–कुनामा रहेका फोहोर, लामखुट्टे तथा रोग उत्पन्न गर्ने किराफट्याङ्ग्रा नष्ट गर्ने परम्परा रहेको छ।

श्रावण कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुगः चह्रे पर्वलाई नेपालमण्डल क्षेत्र (काठमाडौं, ललितपुर, भक्तपुर) मा वर्षभर मनाइने चाडहरूको सुरुवाती चाड मानिन्छ।

सिथिनखः लाई वर्षको अन्तिम चाड र सिनाज्या (धान रोपाइँ) पछि पर्ने गथांमुगः लाई नयाँ वर्षको पहिलो चाडका रूपमा लिने गरिन्छ। सिथिनखः महिलाहरूको चाड मानिन्छ भने गथांमुगः पुरुषहरूको चाडका रूपमा चिनिन्छ।

गथांमुगः चह्रे एक प्राचीन कालदेखिको पर्व हो, जुन भूत, प्रेत, पिशाचजस्ता नकारात्मक शक्तिलाई हटाउने पर्वका रूपमा मनाइन्छ। तर पछिल्ला समयहरूमा यस पर्वसँग सम्बन्धित विभिन्न किसिमका कथा–कहानीहरू बुनिँदै आएका छन्। कतै यसलाई घण्टाकर्ण, कतै गठेमंगल भनी ‘न्वारान’ गरिने गरिएको पाइन्छ, जुन केवल भ्रमपूर्ण अपव्याख्या हो।

यो पर्व सीधै कुनै धर्मसँग सम्बन्धित छैन, तर हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित केही सांस्कृतिक पर्वहरू नेवार समुदायमा मौलिक मूल्य, मान्यता तथा परम्पराअनुकूल फरक ढंगले हुर्किएको पाइन्छ। यसले देखाउँछ कि नेपालमण्डलमा बाह्य संस्कृतिको समायोजन आफ्नै मौलिक तरिकाले गरिएको छ।

लेखक

लेखक

वास्तवमा गथांमुगः पर्व आदिम नेवार संस्कृति बुझ्न एउटा प्रमाण हो। विभिन्न धर्महरू विकास हुनु पहिले नै यहाँको समाजमा यस्ता परम्पराहरू विद्यमान थिए भन्ने देखिन्छ । यस्ता सांस्कृतिक अभ्यासहरूको गहिरो अध्ययन र विश्लेषण आवश्यक देखिन्छ।

के हो गथांमुगः ?

धेरैजसो समाजमा भूतको अस्तित्व स्वीकार गरिएको पाइन्छ। यद्यपि भूतलाई नकारात्मक शक्ति मानिए पनि तान्त्रिक साधनाबाट यसलाई वशमा ल्याई समाजको हितमा प्रयोग गर्न सकिने विश्वास प्राचीन समयदेखि रहिआएको छ।

सरसफाइको अभाव, दूषित पानी वा लामखुट्टेबाट फैलिने रोगका लक्षणहरू (पेट दुखाइ, ज्वरो, बान्ता आदि) लाई जानकारीको कमीका कारण भूत–प्रेतको असर ठानिने गरिएको थियो। त्यसैले भूत र भगवान् दुवैप्रति आस्था राख्ने संस्कार समाजमा विकास भएको देखिन्छ।

रोपाइँका चटारोमा अत्यधिक श्रम गर्दा शरीर कमजोर हुँदै जान्छ, जुन अवस्थामा मानिसलाई अनेकौं स्वास्थ्य समस्या देखिन सक्छ। त्यसैका आधारमा भूतप्रेतले बास गर्‍यो भन्ने विश्वास रहँदै आएको हो। त्यसैले भूतलाई स्थायी रूपमा घरबाट हटाउने मान्यताका आधारमा श्रावण कृष्ण चतुर्दशीका दिन गथांमुगः बनाई विधिपूर्वक विदा गरिन्छ।

गथांमुगः बनाउने विधि र परम्परा

यस दिन बिहानै स्नान गरिन्छ र घर सफा गरिन्छ। केही दशकअघिसम्म यस दिन नकर्मी जातिका कामदारहरूले फलामको औंठी बेच्ने गर्दथे, जसले भूतबाट बचाउँछ भन्ने विश्वास गरिन्थ्यो।

टोल–टोलमा नर्कट वा छ्वालीबाट गथांमुगः बनाइन्छ। कतै पुरुष, कतै स्त्री भूतको रूप बनाइन्छ। अनुहार नाङ्लो वा कागजमा कोरेर टाँसिन्छ। भक्तपुरमा विशेष रूपमा छ्वाली र नर्कट प्रयोग गरिन्छ। साँझपख गथांमुगःलाई नदी किनार वा चौरमा लगेर जलाउने परम्परा छ।

गथांमुगः बनाउने क्रममा घरको एउटा कुनामा लिपपोत गरिन्छ र त्यहाँ छ्वालीको दुई मुठा ठड्याइन्छ। पूजामा प्रायः असामान्य मानिने चिजहरू प्रयोग गरिन्छ—जस्तै भुस, मासु, रगतको डल्लो, वनस्पतिका पात, पीठोको रोटी, च्वकाबजि (चिउराको धूलो) आदि। यी सबै वस्तु भूतपूजाका अनिवार्य सामग्री मानिन्छन्।

टोलको गथांमुगः सेलाएपछि घरको गथांमुगः पनि आगो लगाई छ्वासः (चौतारा) मा लगेर सेलाइन्छ। गथांमुगः सेलाउने व्यक्तिले ठूलो स्वरमा सम्बोधन गर्दै जानुपर्छ र फर्केर आएपछि हात–खुट्टा धोएर मात्र घरभित्र पस्न पाइन्छ। त्यसपछि समेबजि खुवाइन्छ र घरको दलानमा स्वकिं वा न्याकिं (तीनमुखी वा पाँचमुखी फलामका किला) ठोकिन्छ। त्यसपछि ढोका बन्द गरिन्छ र केही समय घर बाहिर आउजाउ बन्द गरिन्छ।

धार्मिक प्रभावको अनुपस्थिति

गथांमुगःसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापमा हिन्दू वा बौद्ध धर्मको प्रत्यक्ष प्रभाव देखिँदैन। तर हिन्दू, बौद्ध दुवै धर्मावलम्बीले यो चाड परम्परागत रूपमा मनाउँदै आएका छन्।

यस पर्वमा आदिम संस्कृतिको स्पष्ट झल्को देखिन्छ। यही झलकले नेवार समाजमा प्रचलित अन्य चाडपर्व तथा धार्मिक अभ्यासहरूलाई समेत निर्देशित गरेको देखिन्छ।

निष्कर्ष

नेपालमण्डल कृषि प्रधान क्षेत्र हो। पाँहाचह्रे (घोडेजात्रा) पछि खेत जोत्नेदेखि रोपाइँसम्मको कठिन परिश्रमपछि थकित शरीरलाई राहत दिने, रोग र अनिष्ट टार्ने, नकारात्मक उर्जा भगाउने उद्देश्यले मनाइने पर्व हो गथांमुगः।

यो पर्व केवल सांस्कृतिक अभ्यास मात्र नभई आदिम चेतना, सामुहिक सरसफाइ, सामाजिक एकता, तान्त्रिक विश्वास र मानवीय मनोविज्ञानको सुन्दर संगम हो ।

(लेखक कासिछवा शिक्षा, स्वास्थ्य, वातावरण र संस्कृति संरक्षण लगायतको क्षेत्रमा कलम चलाँँछन् ।)