पैदलयात्रीको मृत्युपछि भक्तपुरमा तनाव, मयुर यातायातविरुद्ध आफन्त र स्थानीय आन्दोलित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा (रास्ट्रिय वाणिज्य बैंक नजिक) मयुर यातायातको बसले पैदलयात्री वृद्धालाई ठक्कर दिँदा ज्यान गएपछि मृतकका आफन्त र स्थानीयबासी आन्दोलित भएका छन्।

मंगलबार बिहान करिब सवा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा.५ ख. ४७८२ नम्बरको बसले बाटो पार गर्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिदाँ ज्यान गएको थियो ।

भक्तपुर नगरपालिका–४, मंगलाछेँ घर भई हाल आदर्शमा बसोबास गर्दै आएकी श्रेष्ठलाई गम्भीर अवस्थामा भक्तपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

दुर्घटनापछि पीडित परिवारको आक्रोश चुलिएको छ। आफन्तहरूले मयुर यातायातले गल्ती स्वीकार नगरेको र क्षतिपूर्ति दिन अस्वीकार गरेको भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन्। उनीहरूका अनुसार मयुर यातायातले “हामीलाई कोही केही गर्न सक्दैन” भन्दै प्रशासनसँगको सम्बन्ध देखाएर दम्भ प्रदर्शन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारी बोक्ने गरेकै आधारमा मयुरको दम्भ बढेको बताइन्छ ।

यही आक्रोशका कारण आफन्त तथा स्थानीयले बुधबार मयुर यातायातका बसहरू नियन्त्रणमा लिई सञ्चालनमा अवरोध गरेका छन्।

घटनास्थल वरपर विरोध प्रदर्शन हुँदैछ भने चालकलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रहरी वृत्त जगातीमा धर्ना दिइएको छ।

दुर्घटना गराउने बसका चालक नुवाकोट शिवपुरी गाउँपालिका–२ छाप घर भई हाल काठमाडौंको नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

स्थानीयबासीले सडक सुरक्षामा लापरवाही गर्ने सार्वजनिक यातायातका मजदुर र व्यवसायीहरूलाई आवश्यक कार्वाही गर्न माग गर्दै आगामी दिनमा सडक सुरक्षामा केन्द्रीत हुन ध्यानाकर्षण गराएका छन्।

घटनापछि उत्पन्न तनाव साम्य पार्न प्रहरी सतर्कता अपनाएको तथा प्रशासन र पीडित पक्षबीच वार्ता भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरको भनाइ छ ।