
धुलिखेल । काभ्रेपलाञ्चोकको चौरीदेउराली घर भइ बनेपामा बस्दै आएकी ३३ वर्षीया युवतीको ज्यान लिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले शर्मिला उप्रेतीको हत्या अभियोगमा रामेछापको मन्थली-१३ घर भई बनेपा बस्ने सन्तोष सुनारलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
असार ३२ गतेदेखि हराइरहेकी शर्मिलाको शव आइतबार बनेपा-१३ स्थित भगवान थुम्की सामुदायिक वनमा भेटिएको थियो । घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दै जादा ३७ वर्षका सन्तोष सुनारले हत्या गरेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको र उनलाई पक्राउ गरिएको डिएसपी मिनबहादुर घलेले बताए ।
प्रेम सम्बन्धमा खटपट परेपछि हत्या भएको प्रहरी अनुसन्धानले पत्ता लागेको बताइएको छ । डिएसपी घलेले दिएको जानकारी अनुसार सन्तोष सुनार २ वर्षदेखि युवतीसंग प्रेममा रहेको र उनले बिबाह गर्न नमानेपछि अर्कै संग लागेको आशंकामा ज्यान लिएको बयान दिएका छन् ।
म्याद थप गरी सुनारमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।






