भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ले सन्तान मोह नै नेताहरूको सबैभन्दा ठुलो कमजोरी भएको भनेका छन् ।
शुक्रबार आफ्नो पुस्तक ‘जेलका चिट्ठीहरु’को अङ्ग्रेजी संस्करण सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेंले नेताका छोराछोरीलाई अरुले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्नसक्ने भएकोले सचेत रहनुपर्ने आवश्यकता औल्याए ।
“विश्वमा ठुला मानिएका नेताहरूलाई बदनाम गर्न उनीहरुका छोराछोरी प्रयोग भएका इतिहास छन् ।” उनले भने, “त्यसबाट पाठ नसिक्ने हो भने इज्जत जान बेर लाग्दैन ।”
अध्यक्ष बिजुक्छेंले आफ्नो पार्टी नेमकिपासंग राजनीतिक संस्कार भएको समेत जिकिर गरेका छन् । आफूहरूको बिरोध सुधारका लागि भएको भन्दै उनले पार्टीमाथि अन्य राजनीतिक दलले असहिष्णु भनेर लगाउने आरोपमा सत्यता नभएको दावी गरे ।
“ठुला भनिएका दल र तीनका नेताहरुको ब्यवहारबाट हामी खारिएर आएका छौं, त्यो सबै नभोगेका नेताकार्यकर्ता कहिलेकाही अझै भ्रमित भइरहेका छन् ।” उनले भने ।
अध्यक्ष बिजुक्छेंले साहित्य समाजको ऐना भएको भन्दै प्रगतिशील साहित्य लेखनलाई प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिए ।
प्रगतिशील बिचारलाई फैलाउन यसको महत्वमाथि प्रकाश पार्दै अध्यक्ष बिजुक्छेंले भने, “देश र समाजको लागि काम गर्ने मानिसलाई दु:ख दिने प्रयास हुन्छन्, त्यसबाट आत्तिनु हुदैन ।”
२०४५ सालमा भक्तपुर काण्डपछि पन्चायती ब्यवस्थाका शासकले आफूसहित दर्जनौं कार्यकर्तालाई जेलमा हालेका र बाँकी पनि भागेर बचेका अनुभव सुनाउँदै उनले त्यतिबेला भक्तपुरमा बुढाबुढी र केटाकेटीमात्र घरमा बस्नेगरेका स्मरण गरे ।
“म जेलमा दुई वर्ष बस्दा मेरो घरको हालचाल बुझ्न जम्मा दुईजना मात्र पुरुष पुग्नुभयो र उहाँहरुले पनि प्रशासनको सास्ती ब्यहोर्नुपर्यो ।” उनले पुराना कुरा सम्झिए । त्यस्तो अवस्थामा घर, पार्टी र समाजसंग जोडिन जुक्ती लगाएर लेखिएको आफ्ना जेलका चिट्ठीहरुले देश र समाजको हितमा लागिरहन युवा पुस्तालाई प्रेरित गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं नेमकिपाका नेता सुरेन्द्रराज गोसाइँले ‘जेलका चिट्ठीहरु’ अध्यक्ष बिजुक्छेंंले जेलमा रहँदा समेत जनता, पार्टी र कार्यकर्ताप्रति देखाएको प्रेम, समर्पण र मार्गनिर्देशनको बलियो प्रमाण भएको प्रष्ट पारे ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंको परिवारसंग नजिक रहेका डा अशोकानन्द मिश्र, साहित्यकार दम्पतीद्वय इन्दिरा प्रसाईं र नरेन्द्रराज प्रसाईं त्यसैगरी अध्यक्ष बिजुक्छेका भाइ एवं भक्तपुर-५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छें र छोरा ख्वप इन्जिनियरिङ कलेजका सह प्राचार्य डा सुवेगमान विजुक्छेंले अध्यक्ष नारायणमान बिजुक्छें दम्पतीको संघर्ष, प्रेम र प्रेरणाका चाखलाग्दा घटनाहरु सुनाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं नेमकिपा नेतृ सृजना सैँजु, साहित्यकार एवं समिक्षक अभय श्रेष्ठ, मोर्डन कलेजकी सह प्राध्यापक शशी कायस्थ कसपाल, ख्वप इन्जिनियरिङ कलेजका सहप्राध्यापक नवराज बुढाथोकीलगायतले पनि पुस्तकमाथि परिचर्चा गरेका थिए ।
संविधान सभा सदस्य समेत रहेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ बि.सं. २०४५ सालमा जेल परेका थिए । पछि बहुदलीय प्रजातन्त्र पुनः प्राप्तिपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले उनलाई रिहा गरेको थियो ।
तत्कालीन जेल जीवनमा उनले पत्नी शोभा प्रधानको नाममा लेखेको चिट्ठी २५ वर्षपछि ‘जेलका चिट्ठीहरु’ शिर्षकसहित पुस्तकको रुपमा प्रकाशित भयो ।
नेपाली संस्करण प्रकाशनको १२ वर्षपछि अङ्ग्रेजी सस्करण प्रकाशन गरिएको छ । क्रान्तिकारी अन्तर्राष्ट्रिय समुदायसम्म सो चिट्ठी पुर्याउने उदेश्यसहित अङ्ग्रेजीमा प्रकाशन गरिएको प्रकाशक बालविकास माविका अध्यक्ष एवं नेमकिपाका कोषाध्यक्ष मोहनप्रसाद प्रजापतिले बताएका छन् ।
अङ्ग्रेजीमा पुस्तकको नाम ‘लेटर्स फ्रम जेल’ रहेको छ । यसलाई अनुराज जोशीले अङ्ग्रेजी अनुवाद गरेका हुन् ।
२ सय २४ पृष्ठ रहेको यस् पुस्तकको बजार मूल्य रु ४ सय रहेको छ । बिदेशीका लागि ३ डलर पर्ने यो पुस्तकमा २७ वटा चिठ्ठीहरू समावेश छन् । यी चिठ्ठीहरूले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंको राजनीतिक, वैचारिक एवं क्रान्तिकारी दृष्टिकोण मात्र होइन, कारागार जीवन र आत्मदर्शन पनि उजागर गर्छन् ।







