सभामुख घिमिरे भन्छन्, “युवाले संसद बुझ्न आवश्यक छ”

भक्तपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवाले संसदप्रतिको चासो र समझदारी बढाउनु आवश्यक रहेको बताएका छन्। कानुन बनाउने थलो संसदप्रति युवाको चासो बढेमा देशमा पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा असार २५ गतेदेखि सुरु भएको ‘नमुना युवा संसद–२०८२’ को समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले युवामा संसदप्रतिको चासो बढ्नु सकारात्मक संकेत भएको उल्लेख गरे।

उनले वर्तमान सरकार दलीय प्रणालीमार्फत चलेको हुँदा संसदले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। सरकार बहुमत र अल्पमतका आधारमा बन्ने भएकाले संसदलाई अझ प्रभावकारी बनाउनुपर्ने उनले तर्क गरे।

“राजनीति जनताप्रति उत्तरदायी हुनुपर्छ, केवल पद र सत्ताका लागि होइन,” सभामुख घिमिरेले भने। “समस्या समाधानको सट्टा अदालत धाउने प्रवृत्ति गलत अभ्यास हो। हरेक काममा नकारात्मकता खोजेर निराशा फैलाउने होइन, समाधान खोज्नतर्फ लाग्नुपर्छ।”

भिजिट भिसा प्रकरणबारे संसदमा उठेका आवाजको सन्दर्भमा बोल्दै उनले विपक्षी दलको जायज एजेन्डा संसदमा सम्बोधन गर्नुपर्ने बताए। “संसदलाई बल प्रयोग गरेर वा अवरोधबीच चलाउन मिल्दैन,” उनले स्पष्ट पारे।

सभामुख घिमिरेले संघीय संरचनामा संसदको भूमिकाबारे युवालाई जानकारी गराउनु जरुरी रहेको बताए। संसदको बर्खे अधिवेशनलाई बजेट सत्र र हिउँदे अधिवेशनलाई विधायन सत्र भनिने प्राविधिक पक्षसँगै विश्व राजनीतिक सन्दर्भमा पनि युवा सचेत हुनुपर्ने उनको भनाइ थियो।

“आजका युवाले लोकतन्त्र र संघीयता जोगाउने जिम्मेवारी लिनुपर्छ,” उनले भने, “हाम्रो भविष्य देशभित्रै खोज्नुपर्छ।”

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाले देश निर्माणमा सक्रिय भूमिका लिनुपर्नेमा जोड दिए। परिषद्का सदस्य–सचिव गेहनाथ गौतमका अनुसार देशभरबाट १६ देखि २४ वर्ष उमेर समूहका ८० जना युवाको सहभागितामा नमुना युवा संसद कार्यक्रम सम्पन्न भएको हो।