
ललितपुर । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर देशको समृद्धिका लागि काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीका अनुसार उद्यमशीलताको विकासमार्फत मात्र समृद्धि सम्भव छ। उनले सरकार महिला र युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे।
“यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न मद्दत गर्नेछ,” उनले भने, “संविधान र व्यवहार दुबैमा महिलाको सशक्तिकरण सुनिश्चित गरिएको छ।”
उनका अनुसार तीनै तहका सरकारमा कम्तीमा ३३ प्रतिशत महिला जनप्रतिनिधि सुनिश्चित गरिएको छ।
विद्यालयहरूमा छात्रा संख्या छात्रभन्दा बढी रहेको र परीक्षाको नतिजामा पनि उनीहरूले राम्रो गरिरहेकाले महिलाको कारण देशको भविष्य राम्रो भएको उनको भनाइ छ ।








