
भक्तपुर । बालबालिकासम्बन्धी मुद्दा हेर्ने भक्तपुरस्थित उपत्यकाकै एक्लो बाल अदालतमा आधिकारिक वेबसाइट नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकको पनि बालबालिका सम्बन्धि मुद्दा हेर्ने भक्तपुरस्थित बाल अदालतमा पेशी लगायतका जानकारीका लागि कानुन व्यवसायीहरू समेत अदालत धाउन बाध्य छन्।
भक्तपुरका मात्र होइन काठमाडौँ, ललितपुर र काभ्रेका सेवाग्राही समेत एक सूचना बुझ्नकै लागि दिनभर अदालतमै कुर्नुपर्ने बाध्यता भएको कानुन ब्यवसायी संजीवप्रसाद दुलालले बताए ।
वेवसाइट नहुँदा अदालती कार्यसम्पादनसमेत प्रभावित भएको सेवाग्राहीहरू बताउँछन्। “एउटा मितिमा के-के मुद्दा छन्, कुन पेशी कहिले पर्छ भन्ने जानकारी नहुँदा काममै ढिलाइ भइरहेको छ,” बाल अदालत आएका एक सेवाग्राहीले गुनासो गरे।
सरकारले डिजिटल प्रणालीमार्फत न्याय प्रणालीलाई सहज र पारदर्शी बनाउने लक्ष्य लिएको भए पनि बाल अदालत भक्तपुरमा त्यो अभ्यास कार्यान्वयनको पाटोमा अझै कमजोर देखिएको छ।
यदी वेबसाइट छिट्टै निर्माण गरिएन भने अदालतसँग प्रत्यक्ष सम्पर्कमा बस्नुपर्ने बाध्यता अझै पनि कायमै रहने देखिन्छ । जसले समय, श्रम र स्रोतमा अनावश्यक बोझ थप्ने निश्चित छ।
बाल अदालतकी प्रशासन प्रमुख रहेकी श्रेष्तेदार दिलशोभा सुवालले भने छिट्टै वेबसाइट सञ्चालन गर्ने प्रतिवद्धता प्रकट गरेकी छन् ।
बाल अदालत यसै आर्थिक वर्षमा न्याय परिषदको सिफारिसमा प्रादेशिक अधिकार सहित स्थापना भएको हो ।
भक्तपुरको पुरानो जिल्ला अदालत भवनमा सञ्चालित बाल अदालतमा क्षेत्राधिकारभित्रका ४ जिल्ला अदालतका बाल इजलासमा रहेका मुद्दा सर्ने गरेका छन् ।
बालबालिकाको कसुरसम्बन्धमा बाल अदालतमा परेका मुद्दाको ४ महिना भित्र फैसला गरिसक्नुपर्ने कानुनी ब्यवस्था रहेको छ ।
बाल अदालत भक्तपुरकी श्रेष्तेदार दिलशोभा सुवालले जनाए अनुसार हाल अदालतमा करिब २ सय ५० बालबालिकासम्बन्धी मुद्दा विचाराधीन छन्। ती सबैको सुनुवाइ न्यायाधीश उपेन्द्र प्रसाद गौतमको एकल ईजलासमा भइरहेको उनको भनाइ छ ।







