पूर्वाधार निर्माणदेखि पर्यटन प्रवर्द्धनसम्म चाँगुनारायणको सार्थक पहल

भक्तपुर । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको ३ आर्थिक वर्षको अवधिमा (२०७९ सालदेखि २०८१ सम्म) नगरमा उल्लेखनीय प्रगति भएको बताइएको छ ।

पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति, पर्यटन, यातायात तथा अन्य विविध क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको पत्रकारसंगको अन्तरक्रियामा दावी गरिएको हो ।

नगरकोटमा नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष जनक खत्री त्यसैगरी वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामा, ७ का वडाध्यक्ष श्यामकाजी नयाजूले जनप्रतिनिधिले गरेका कामबारे जानकारी दिए ।

त्यसैगरी प्रशासनिक कामबारे प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ र अधिकृत सूरज पौडेलले अवगत गराए ।

 “भौतिक विकास मात्र होइन, मानवीय समृद्धिको दिशामा पनि सशक्त पाइला चालिएको छ ।” अन्तरक्रियामा उनीहरूले दावी गरे, “हाम्रा असल अभ्यास अरु पालिकाले पनि पछ्याएका छन् ।”

पूर्वाधार विकासमा फड्को

तीन वर्षको अवधिमा नगरभित्र विभिन्न सडकहरू कालोपत्रे, ढुङ्गा छापिएका र सुदृढ पारिएका छन्। सैनिक व्यारेकदेखि छालिङसम्मको सडक, सरस्वती मन्दिर–सोमथली सडक, कमलविनायक–नगरकोट सडक लगायतका मुख्य मार्गमा कालोपत्रे सम्पन्न भएको छ। यसका साथै, वडा नं. १ दुवाकोटमा सामुदायिक भवन, वडा कार्यालय र व्याडमिन्टन हल निर्माण भएको छ।

शिक्षा र क्षमतामा लगानी

नगरपालिकाले पहिलो पटक ७३ जना युवालाई लोकसेवा तयारी कक्षा, श्रेणीविहीन कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम र महिलाहरूका लागि नेतृत्व विकास तालिम सञ्चालन गरेको छ। विद्यालयस्तरमा विद्यार्थीहरूलाई कपडा वितरण र खानेपानी सरसफाइबारे सचेतना कार्यक्रमहरू गरिएको छ। 

त्यस्तै दिवा खाजामा अनुदान वृद्धि, माध्यमिक शिक्षाको नतिजा सुधारका कार्यक्रम, छोरी बचत खाताको प्रभावकारीता अरु पालिकाको लागि पनि अनुकरणीय हुनेगरी अघि बढेका बताइएको छ । 

संस्कृति संरक्षणका पहलहरू

पुराना ढुङ्गेधारा, विराट स्वरूप मन्दिर, फल्चा पुनःनिर्माण जस्ता संरचनाको संरक्षण गर्नुका साथै, वागमती प्रदेशस्तरीय धिमे वाजा प्रतियोगिता र खुला नृत्य प्रतियोगिताहरू सञ्चालन गरी परम्परागत कला–संस्कृतिको जगेर्ना गरिएको छ।

पर्यटन प्रवर्द्धनमा नयाँ पहल

“नगरकोट भ्रमण वर्ष २०८२” को शुभारम्भ राष्ट्रपतिबाट गरिएको हो। यसलाई लक्षित गर्दै २४ किलोमिटर साईकलिङ र पदयात्रा कार्यक्रम सम्पन्न भएको छ। भ्रमण वर्ष सफल पार्न योजना र कार्यक्रम अघि बढेका बताइएको छ 

वडाहरुले पनि आफ्नो सापेक्षता भ्रमण वर्ष सफल पार्ने कार्यक्रम गरेका जनाइएको छ । नगरकोट, चाँगुनारायण मन्दिर लगायतका क्षेत्रको प्रवर्द्धनमा स्थानीय तथा प्रदेश सरकार मिलेर अघि बढेका छन्।

स्वास्थ्य र सेवा विस्तार

छालिङ स्वास्थ्य चौकी भक्तपुर जिल्लामै उत्कृष्ट ठहरिएको छ। चाँगुनारायण अस्पतालको चौथो वार्षिकोत्सव स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। छात्राहरुलाई स्यानिटरी प्याड वितरण तथा पदालीमा शहरी स्वास्थ्य सेवा केन्द्र स्थापना स्वास्थ्य क्षेत्रमा गरिएको अर्को उपलब्धि हो।

रगत आवश्यक हुने नगरबासीलाई रेडक्रस मार्फत निशुल्क रगत पाउने ब्यवस्था गरि सोवापतको शुल्क नगरपालिकाले रेडक्रसलाई भुक्तानी दिने ब्यवस्था मिलाइएको र यसलाई अरु पालिकाले पनि अनुकरण गरेका भनिएको छ । 

अन्य पहलहरू

महादेव खोला खानेपानी आयोजना, कृषि औजार वितरण, स्मार्ट सिटी कार्ययोजना, EV प्रवर्द्धन, कानुन संगालो प्रकाशन, युवा नगरसभा लगायतका कार्यक्रमबाट नगरपालिका योजनाबद्ध रुपमा अघि बढेको देखिन्छ। LISA मूल्याङ्कनमा ९२.५% र FRA मा ८७% प्राप्त गर्नु नगरको सुशासन तथा संस्थागत क्षमताको सूचक भएको भनिएको छ ।