रोकियो न्याय, रोकिएनन् गौरीशंकरका आँसु

काठमाडौं । “बम पड्किएको म आफैंले देखेको छु, कान उडे, छाती जल्यो… आज पनि पीडा उस्तै छ,” – २०६४ सालको संविधानसभा निर्वाचनअघिको बम विस्फोटमा घाइते भएका गौरीशंकर राम चमार भन्छन्, “तर दोषी छुटे भनेर थाहा पाउँदा मनै चिरिन्छ।”

भारत बिहारको सीतामढी निवासी ४३ वर्षीय गौरीशंकर रौतहटको राजपुर फरहदवास्थित राजा इँटाभट्टामा काम गर्थे। त्यहीँ बेला उनी बम काण्डमा परेका रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

निर्वाचनको अघिल्लो साँझ नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको घरमा पैसा लिन गएका उनी त्यहीँ बम विस्फोटमा परे। कान गुमाए, अनुहार जल्यो, तीन महिना अस्पतालमा बित्यो – ३ लाख ५० हजार भारु खर्चियो। तर, आजसम्म न आफूसँग कुराकानी भयो, न पीडकबाट कुनै क्षमायाचा नै।

“म बाँचें, अरु धेरै मरे भन्ने सुनें। मलाई धम्कीसमेत दिइयो – तँ अब धेरै बाँच्दैनस् भनियो,” – उनी भन्छन्, “अहिलेसम्म पनि काम गर्न सक्दिनँ। शरीरले साथ दिंदैन। अब त डर लाग्न थाल्यो।”

उच्च अदालत वीरगन्जले आलमलाई प्रमाण अभावका आधारमा सफाइ दिएको हो। अदालतको निर्णयमा बम विस्फोट भएको पुष्टि नहुने उल्लेख छ। तर, प्रत्यक्ष पीडित गौरीशंकर भने भन्छन्, “बम त पड्किएको हो नि, मलाई लागेको हो, म भागेको थिएँ। त्यो झूट त होइन। अनि न्याय के हो?”

उनको तर्कमा भावनाको आक्रोश मात्र होइन, न्याय खोज्ने पीडाको गहिरो गुहार पनि छ। “सरकारसँग मेरो माग छ – यस्तो अपराधी छुट्न हुँदैन। म पीडित मान्छे, न्याय चाहियो ।”

स्मरणीय छ, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता अफ्ताब आलममाथि २०६४ सालमा बम बनाउने क्रममा भएको विस्फोटमा दर्जनौँ घाइते र मारिएका व्यक्तिहरूलाई इँटाभट्टामा जिउँदै जलाएर ज्यान लिएको आरोप लागेको थियो।

लामो कानुनी प्रक्रियापछि उच्च अदालतले उनलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ । तर, घटनाबाट बाँचेका एक जीवित साक्षी गौरीशंकरका आँसु भने अझै बगिरहेकै छन्।