हेटौंडा । बर्षाले बिगारेको बाटोमा चारदेखि पाँच घण्टाको कठिन यात्रा गरेर बिहीबार हस्याङफस्याङ गर्दै हेटौंडा पुगेका जनप्रतिनिधि प्रदेश सभा बैठकमा सहभागी हुन नपाउदा खिन्न छन् ।
प्रदेश सभा सचिवालयले आकस्मिक सूचना टाँस गरी चार दिनका लागि बैठक स्थगित गरेसंगै प्रदेश सदस्यहरु असन्तुष्ट बनेका हुन् ।
यस घटनाले प्रदेश सभाभित्रको आन्तरिक राजनीतिक अस्थिरता फेरि एकपटक उजागर भएको छ।
कम्तिमा अघिल्लो दिन स्थगनको सूचना दिएको भए सदस्यहरु दु:ख गरेर हेटौंडा पुग्नुपर्ने अवस्था रहदैनथ्यो भन्दै प्रदेश सदस्यहरुले आक्रोश पोखे ।
संसद सचिवालयले बैठक स्थगित हुनुमा ‘विशेष कारण’ भनेको छ । तर बजेटमा सत्तापक्षकै सांसदको विरोध ब्यापक बढेपछि बैठक स्थगन गर्नुपरेको बताइएको छ ।
भक्तपुर १(१) बाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाइँले तीव्र प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, “वाह रे वाह गठबन्धन सरकार! वाह रे वाह एमाले कांग्रेसको सुशासन!!”
उनको दाबी अनुसार, प्रमुख सत्ता घटक नेकपा एमाले र नेपाली कांग्रेसको प्रदेश संसदीय दलभित्र ‘कुस्ताकुस्ती’ अर्थात् बिबाद बढेपछि तिनकै केही सांसदले सभा बहिष्कार गर्ने चेतावनी दिएकाले बैठक स्थगन गरिएको हो।
“बैठक बस्छ भन्ने आशमा आएका जनप्रतिनिधिलाई अन्तिम समयमा सूचना टाँस गरेर बैठक स्थगन गरिन्छ भने प्रदेश सरकारबाट जनताले के आश गर्ने?” सांसद गोसाइँले प्रश्न गरे ।
गोसाइँको भनाइले प्रदेश सरकारको निर्णय प्रक्रियामाथि प्रश्न खडा गरेको छ भने समन्वय अभाव र आन्तरिक मतभेद प्रदेश सरकारभित्र गहिरिँदै गएको संकेत पनि दिएको छ। उनले प्रदेश सभा सांसदको नभई सत्ता पक्षको जस्तो मात्र भएको पनि भनेका छन् ।
यस विषयमा सत्ता पक्षको औपचारिक प्रतिक्रिया भने आएको छैन ।