रुघाखोकीको बिरामी प्रशंसाको ज्यानलिने अस्पताल र डाक्टरलाई अदालतको यस्तो आदेश

काठमाडौं । काठमाडौंको हिमाल हस्पिटल र डा. जयदेव यादवलाई उपभोक्ता अदालतले ठुलो क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

अस्पताल र चिकित्सकको लापरवाहीका कारण २८ महिनाकी बालिका प्रशंसा गौतमको ज्यान गएको प्रकरणमा उपभोक्ता अदालतले अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

२०७९ माघ २३ गते, मोरङका गौरव दर्पण र अशिका भण्डारीले आफ्नी छोरीलाई सामान्य रुघाखोकी र ज्वरोको कारण हिमाल अस्पतालमा उपचारका लागि पुर्याएका थिए। 

भर्ना गरी उपचार गरेको अस्पतालले माघ २६ गते, उपचारकै क्रममा बालिकाको ज्यान गएको घोषणा गरेपछि उनीहरूको खुशी लुटिएको थियो ।

उपचारमा लापरवाही भएको आरोप लगाउँदै पीडित परिवारले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयदेखि अदालतसम्म धाउँदा पनि लामो समयसम्म कुनै ठोस न्याय पाएका थिएनन्।

तर, उपभोक्ता अदालतको निर्णयले बालिकाको आत्माले अलिकति न्याय पाएको अनुभूति भएको बालिकाको बाबु गौरव दर्पणले बताए ।

दर्पण गायक एवं संगीतकार पनि हुन् । उनले आफ्नो छोरीको न्यायको लागि धेरै संघर्ष गरेका छन् । प्ररधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर उनले आफ्नो परिवारको पीडा पोखेका थिए ।

 डाक्टरलाई फौजदारी अभियोगमा सजाय हुनुपर्ने परिवारको माग रहेको थियो ।

उपभोक्ता अदालतका न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले दिएको फैसलाअनुसार अस्पतालले ७० प्रतिशत अर्थात् १ करोड १ लाख ८० हजार रुपैयाँ र डा. यादवले ३० प्रतिशत अर्थात् ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ।

इजलास अधिकृत शोभाकर खरेलले बालिकाको उपचारमा लापरवाही प्रमाणित भएको जनाउँदै सोहि आधारमा क्षतिपूर्ति निर्धारण गरिएको जानकारी दिए।

 मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले पनि अस्पताल पक्षको लापरवाही औँल्याएपछि पीडित परिवार काठमाडौं जिल्ला अदालतमा न्याय माग्न पुगेको थियो । उपभोक्ता अदालत गठन भएपछि उक्त मुद्दा चैतमा सो अदालतमा सरेको हो।

यस फैसलाले स्वास्थ्य क्षेत्रमा देखिएको लापरवाहीप्रति न्यायालय गम्भीर देखिएको पुष्टि हुन्छ भने भविष्यमा यस्ता यस्ता लापरबाही रोक्न र घटनामा पीडितलाई न्याय दिलाउन कानुनी बाटो अझ सशक्त हुनसक्ने आशा पलाएको परिवारजनले प्रतिक्रिया दिएका छन् ।