भक्तपुरको श्रीपद्म मावि पुन: उत्कृष्ट

ललिता साह, भक्तपुर । भक्तपुरको पहिलो र देशभरिकै तेस्रो शताब्दी पुरानो सामुदायिक विद्यालय  श्रीपद्म माध्यमिक विद्यालयले यस वर्ष पनि शैक्षिक मूल्याङ्कनमा उत्कृष्टता कायम राख्न सफल भएको छ।

नेपाल सरकारअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरले गरेको वार्षिक शैक्षिक मूल्याङ्कन अनुसार पद्म माद्यमिक विद्यालय पुन उत्कृष्ट सावित भएको हो ।

शैक्षिक वर्ष २०८० मा ९० प्रतिशत अंक प्राप्त गर्दै देशभरकै तेस्रो उत्कृष्ट विद्यालयको स्थान पाएको यस विद्यालयले शैक्षिक वर्ष २०८१ मा सो अंकमा एक प्रतिशत वृद्धि गर्दै उत्कृष्टताको उचाइ चुम्न सफल भएको विद्यालयका प्रधानाध्यापक राम हाडाले जानकारी दिए।

गत जेठ २७ गते विज्ञ परीक्षक प्रकाश महर्जनको नेतृत्वमा आएको टोलीले विद्यालय, विद्यार्थी, र समुदायको अवलोकन गर्दै नौवटा मापदण्ड अन्तर्गत शैक्षिक, भौतिक, आर्थिक, वातावरणीय सरसफाइ लगायतका सूचकहरूको मूल्याङ्कन गरेको थियो।

कुल १९५ अंक भार रहेको मूल्याङ्कनमा विद्यालयले १७९ अंक अर्थात् ९१.७९ प्रतिशत अंक ल्याई ‘उत्कृष्ट’ को श्रेणीमा परेको हो।

सोमवार आयोजित औपचारिक कार्यक्रममा विद्यालयको उत्कृष्टता सार्वजनिक गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष कृष्ण गोरा भन्छन्, “आलोचनालाई मार्गदर्शनको रूपमा आत्मसात् गर्यौँ, अब यो विद्यालयलाई अझ उत्कृष्टताको उचाइमा पुर्‍याउने छौँ।”

पद्म नमुना विद्यालय २०७५ सालमै औपचारिक रूपमा ‘नमुना विद्यालय’ घोषणा गरिएको हो।

करिब १ हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयले कक्षा १२ सम्मको माध्यमिक शिक्षा र स्नातक तहसम्मको कलेजसमेत सञ्चालन गर्दै आएको छ।

यसअघि २०८० सालमा यो विद्यालय बागमती प्रदेश सरकारबाट ‘असल अभ्यासमा उत्कृष्ट विद्यालय’ को रूपमा सम्मानित भइसकेको छ।

विज्ञ परीक्षक प्रकाश महर्जनका अनुसार विद्यालयले शैक्षिक अभिलेख व्यवस्थापन, शिक्षकको प्राविधिक क्षमता, रणनीति निर्माण, पुस्तकालय, विज्ञान प्रयोगशाला, नवप्रवर्तनात्मक कार्य लगायतमा उत्कृष्ट कार्य प्रदर्शन गरेको पाइयो।

उनले भने, “शिक्षक सरकारी कर्मचारी होइन, प्राविधिक अभियन्ता बन्नुपर्छ। अनुसन्धान, पेशागत विकास, चमेना गृह व्यवस्थापन, तथा शैक्षिक विधिको प्रयोगमा अझ लगानी गर्न सके पद्म विद्यालयले अझ बढी सफलता हासिल गर्न सक्छ।”

महर्जनले थपे — शताब्दी पुरानो यस विद्यालयमा दाताहरूलाई आकर्षित गर्ने अपार सम्भावना रहेको छ, र यो विद्यालय अरू सामुदायिक विद्यालयका लागि प्रेरणाको स्रोत बन्न सक्छ।