रहेनन् भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्णलाल गोजा

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिका अग्रज बामपन्थी नेता एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कृष्णलाल गाेजाको असामयिक निधन भएको छ ।

७३ वर्षको उमेरमा श्रेष्ठकाे मध्यपुर थिमि-४ स्थित निजी निवासमा असामयिक निधन भएकाे हो ।

मधुमेहको नियमित औषधि सेवन गरिरहेका कृष्णलालको स्वास्थ्यमा समस्या थिएन । सोमबार बिहान करिब साढे ९ बजे घरमै बसिरहेका बेला उनको प्राण गएको र अस्पताल सम्म पनि पुर्याउन नपाएको पारिवारिक श्रोतले जनाएको छ ।

२०१८ सालदेखि बामपन्थी राजनीतिमा क्रियाशिल रहेका कृष्णलाल एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका थिए ।

भूमि ब्यवस्था आयोगको पूर्व जिल्ला सदस्य समेत रहेका कृष्णलाल इमान्दारीका पर्याय थिए । स्थानीय संघसस्थाको सफलतापूर्वक नेतृत्व गरी उनले मध्यपुर थिमि क्षेत्रका लागि अमूल्य योगदान गरेका छन् ।

उनको निधनले पार्टी र कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षती पुगेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलिप प्रजापतिले बताएका छन् ।

उनको पार्थिव शरीरलाई सोमबार मध्यान्ह लगत्तै दधिकोटस्थित दक्षिण बाराहीस्थित घाटमा पुर्याई अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ । पार्टीको झण्डा ओढाइ उनलाई सम्मानसहित बिदाइको तयारी गरिएको माओवादी केन्द्र मध्यपुर थिमि नगर समितिले जनाएको छ ।

कृष्णलालका दुई छोरा र दुई छोरी छन् ।

हेर्नुस् जिल्ला समितिको शोक वक्तब्य