भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिताको उपाधि प्राइम डे क्लबले उचालेको छ ।
सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३-१ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल गरेको हो ।

बिजेता र उपबिजेता टोलीलाई क्रमश नगद १५ हजार र १० हजार सहित शिल्ड र ट्रफि प्रदान गरिएको कार्यक्रम संयोजक कमला पोखरेलले जनाएकी छन् ।
त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी शुसान्त खिउजू घोषित भएका उनले बताइन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर सुजन गुमाञ्जु भए भने सौरभ धामी उच्च गोलकर्ता बन्न सफल भएका थिए ।
उत्कृष्ट खेलाडीलाई पनि नगदसहित ट्रफि र मेडलले सम्मान गरिएको थियो ।
फुटसल प्रतियोगिता स्थानीय युवा नेता एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक थापाको पहल र समन्वयमा सम्पन्न भएको हो । प्रतियोगितामा वडाभित्रका १३ वटा समूहहरूले प्रतिस्पर्धा गरेका थिए ।
युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुदलाई महत्व दिएर फुटसल प्रतियोगिता आयोजना हुनु र वडामै १३ वटा समूह प्रतिस्पर्धामा उत्रनु सुखद पक्ष भएको थापाको भनाइ छ ।
बिजयी समूह र उत्कृष्ट खेलाडीलाई पुरस्कार र सम्मान ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले खेलले युवालाई अनुशासित, स्वस्थ र फूर्तिलो बनाउने बताए ।
खेलाडी उत्पादनमा पनि प्रतियोगिताले सहयोग पुग्ने भन्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकतापूर्वक अघि बढाउने प्रतिवद्धता प्रकट गरेका छन् ।