भक्तपुर । पतञ्जली जग्गा प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा पनि मुछिएका छन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि एक प्रतिवादी ठहरिएका हुन् ।
पतञ्जलीको जग्गा खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापालाई पनि प्रतिवादी बनाएको हो ।
थापाले भने चिनजानको आफ्नै नगरबासी डिल्लीध्वज बराईलीसँग जग्गा किनेको र अख्तियारले बयानका लागि बोलाएपछि मात्र सो जग्गा पतञ्जलीको भन्ने थाहा पाएको बताएका छन् । सो जग्गा साँगामा रहेको छ । मेयर थापाले १ करोड ३० लाखमा खरिद गरेको जग्गा पतञ्जलीबाट डिल्लीध्वजले खरिद गरी उनलाई बेचेपछि उनी अख्तियारको फन्दामा परेका पारिवारिक श्रोतले जनाएको छ ।
पारिवारिक श्रोतले ननस्टपखबरलाई बताए अनुसार प्रमुख थापाले अख्तियारले बोलाएपछि जग्गाधनीलाई सो जग्गा फिर्ता गरिसकेका छन् ।
तथापि, अख्तियारले मुद्दामा प्रतिवादी बनाएको आफूहरूले समाचार माध्यमबाट थाहा पाएको पारिवारिक श्रोतले बतायो ।
नेकपा एमालेका नेता थापा भक्तपुरमा विद्या भण्डारी निकट मानिन्छन् ।
एमाले जिल्ला अधिवेशनमा स्पष्ट दुई धार देखिदाँ उपाध्यक्ष पदमा उनलाई अध्यक्ष केपी शर्मा ओली निकट किरण थापाले पराजित गरेका थिए । थापा हाल बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री छन् ।
नगरपालिका प्रमुखको रुपमा बासुदेव थापाको यो दोस्रो कार्यकाल हो ।