बालुवा बोकेको ट्रिपरमा अचानक आगलागी

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–५, तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा अपराह्न एक बालुवा बोकेको ट्रिपरमा एक्कासि आगलागी भएको छ।

आगलागी अपराह्न साढे १२ बजे भएको हो। दोलखा जिल्ला, कालिञ्चोक गाउँपालिका–७ निवासी २७ वर्षीय नवराज सिवाकोटीले चलाएको बा २ क ६१२५ नम्बरको टिपर पाँचखालबाट भक्तपुरतर्फ आउँदै गर्दा आगलागी भएको हो । अचानक रेस बढ्दा चालकले सवारी रोकेर पम्पको तार र फ्युज निकाल्ने क्रममा टिपरमा आगलागी भएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

आगलागीमा कुनै मानवीय क्षति भएको छैन। यद्यपि सवारीसाधनमा भने क्षति पुगेको छ।

घटनास्थलमा नेपाल प्रहरी, पाँचखाल नगरपालिकाको नगर प्रहरी र दमकलको टोली खटिएर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डिएसपी मिनबहादुर घलेले बताए । आगो पूर्णरूपमा नियन्त्रणमा लिन १ घण्टा लागेको थियो।

 घटनाको थप अनुसन्धान अघि बढाइएको डिएसपी घलेले बताएका छन्  ।