ख्वपमा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल मजदुर किसान पार्टीका सचिव, ख्वप कलेजका संस्थापक अध्यक्ष तथा संघीय सांसद प्रेम सुवालले सम्मेलनबाट प्राप्त निष्कर्ष नयाँ पुस्ताका विद्यार्थीहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। उनले भक्तपुर नगरपालिकाबाट सञ्चालित सात वटा शैक्षिक संस्थामार्फत ७७ वटै जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिँदै आएको जानकारी गराए।

सुवालले सरकारले भक्तपुर नगरपालिका सञ्चालनमा ल्याउन चाहेको ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिएको गुनासो गरे। उनले भक्तपुर नगरपालिकाले ग्रीस र रोमजस्तै नगर विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य राखेको बताए।

उनले विश्वविद्यालय र प्राध्यापकहरूले देशको समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याउँदै समाजवादी गणतन्त्रमै जनताको हित सम्भव हुने धारणा राखे। राज्यले सन्तुलित विकासका लागि गम्भीर नीतिगत पहल गर्नुपर्नेमा जोड दिँदै सबै विद्यार्थीको समान विकासतर्फ शैक्षिक संस्थाले ध्यान दिनुपर्ने उल्लेख गरे।

विद्यार्थीहरूलाई नयाँ भाषा सिक्न प्रेरणा दिनुपर्ने र सूचना प्रविधिको भरमा मात्र विकास सम्भव नरहने धारणा राख्दै सुवालले अनुसन्धानमा प्रविधिको प्रयोग उपयोगी भए पनि त्यसकै भरमा विकास गर्न नहुने बताए।

कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मेलनका निष्कर्षहरू सम्बन्धित निकायसम्म पुर्‍याउन पहल गरिने बताए। उनले स्थानीय तहलाई दिइनुपर्ने बजेटमा सरकारको कटौतीप्रति आपत्ति जनाए।

प्रजापतिले देशमा दुई दलीय तानाशाही हाबी भएको आरोप लगाउँदै जनतामा राजनीतिप्रतिको वितृष्णा बढ्दो अवस्थामा रहेको बताए।

नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले ख्वप कलेजले देश अनुकूल विषयमा सम्मेलन सञ्चालन गरेको उल्लेख गर्दै सम्मेलनको निष्कर्ष राज्यलाई मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिन्।

उनले ख्वप सर्कलबाट यस्ता प्राज्ञिक गतिविधिहरू निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गर्दै पुँजीवादी व्यवस्थाले समाज र प्रकृतिबीच दूरी सिर्जना गरिरहेको धारणा राखिन्।

ख्वप कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले सम्मेलनमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता सबैको उत्साहजनक सहभागिता रहेको जानकारी दिए।

सम्मेलनका क्रममा ६१ वटा कार्यपत्र प्रस्तुत गरिएकोमा अनुसन्धानकर्ता श्रेणा श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रलाई उत्कृष्ट ठहर गर्दै सम्मान गरिएको थियो। प्रमुख अतिथि सुवालले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे भने सम्मेलन संयोजक डा. राजकुमार प्रधानले धन्यवाद ज्ञापन गरे।