स्कुटी चोरी आरोपमा ९ जना नियन्त्रणमा

भक्तपुरको मध्यपुर थिमिमा स्कुटी चोरीको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।

जेठ २ गते मध्यपुर थिमि-९ बाट बा. ५७ प. ९९५७ नं. को स्कुटर र ४ गते वडा नं. ८ बोडेबाट बा. ७७ प. ३३५९ नं. को स्कुटर चोरी भएको घटनाको अनुसन्धान गर्दा उनीहरुलाई चोरीको स्कुटीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिका रहेका डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

प्रहरी वृत्त थिमिको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाने क्रममा चोरीमा संलग्न ६ जनालाई सोमबार नै पक्राउ गरेको थियो भने अन्य व्यक्तिहरु क्रमश पक्राउ परेका हुन् । पक्राउ परेका मानिसहरु अधिकांश काठमाडौको बौद्ध क्षेत्र र नारायणटार बस्ने २० वर्ष भन्दा कम उमेरका रहेका एक अनुसन्धान अधिकारीले जानकारी दिए । वृत्त प्रमुख ढुंगानाले भने उमेरको पुष्टि हुने कागजात फेला नपरेको र अभियुक्तहरुका आफन्त सम्पर्कमा आएपछि यकिन उमेर थाहा हुने जानकारी गराएका छन् ।

उल्लेखनीय कुरा के छ भने पक्राउ परेकाहरु फरक स्थायी ठेगानाका छन् । पक्राउ पर्नेहरु ओखलढुङ्गाका अविन श्रेष्ठ, मकवानपुरका पेम्बा मोक्तान, सिन्धुपाल्चोकका आयुष गोले, सुनसरीका रितेश राई, कास्कीका सुजन गुरुङ, रौतहटका अनिल तामाङ, मकवानपुरका विक्रम तामाङ र अनमोल तामाङ त्यसैगरी नुवाकोटका कृष्ण तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले पुष्टि गरेका छन् ।

साँझको समयमा एकै क्षेत्रबाट दुई दिनको फरकमा दुई वटा स्कुटर चोरी भएपछि प्रहरीको प्रेसर बढेको थियो । सिसि क्यामेरा फुटेज हेर्दा धेरै मानिसको चोरीमा संलग्नता देखिएपछि संगठित अपराधको आशंकामा प्रहरीले विशेष अनुसन्धान अघि बढाएको र छोटो समयमै चोरहरु पक्राउ परेका थिमि वृत्तका प्रमुख तथा डिएसपी नवराज ढुंगानाले बताए ।

उनीहरु मध्ये केही मध्यपुर थिमिमै पक्राउ परे भने धेरैजसोलाई काठमाडौं प्रहरीको सहयोगमा गोकर्णेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

उनीहरु दुई पाङ्ग्रे सवारी चोरीको अन्य घटनामा पनि संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका सबैजनालाई थिमि वृत्तले म्याद थप लिई थप अनुसन्धान अघि बढाएको छ ।