भक्तपुर । घरमा लगेर बस जोतेको आरोपमा प्रहरीले २० वर्षिय सहचालक अनिल खत्रीलाई पक्राउ गरेको छ ।
गएराति करिब २ बजेको समयमा बा ६ ख ५९९८ नम्बरको भक्तपुर-बागबजार रुटमा चल्ने बस मध्यपुर थिमिको निकोसेरास्थित स्थानीय सानुमाया धौबन्जारको घरमा जोतिन पुगेको थियो ।
चालकले भक्तपुर ग्यारेजमा राखेको बस सहचालकले राति दुर्घटना गराएको ख्वप भक्तपुर यातायात प्रालिले प्रतिक्रिया दिएको छ ।
भक्तपुर-पेप्सिकोला सडकखण्डको निकोसेरामा गणेश मन्दिरलाई भग्नावशेषमा परिणत गर्दै बस स्थानीय सानुमाया धौबन्जारको घरमा ठोक्किएको हो ।
दुर्घटनाबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी बृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुङ्गानाले जनाएका छन् ।
चालकले राति रोकेर राखेको बसलाई सहचालक खत्रीले चलाएर हिँडेको प्रारम्भिक अनुसन्धानले पत्ता लागेको डिएसपी ढुङ्गानाको भनाइ छ । सहचालकले मादक पदार्थ सेवन गरेका पाइएको उनले पुष्टि गरेका छन् ।
‘सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दैछौं ।” डिएसपी ढुङ्गानाले भने ।
स्थानीयले भने चालकलाई जोगाउन सहचालकमा दोष थुपारिएको हुनसक्ने आशंका गरेका छन् ।
ख्वप भक्तपुर मिनिबस यायायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र महर्जन भने यसअघि पनि सहचालकले माइक्रोबस चोरेर भारत पुर्याएको र आफूहरूले त्यहाँबाट किनेर ल्याउनुपरेको अनुभव सुनाउँछन् ।
यद्यपि, अनुसन्धानबाट बास्तविकता पत्ता लाग्ने उनले बिश्वास ब्यक्त गरेका छन् । जिल्ला यातायात ब्यवसायी संघ भक्तपुरका संयोजक रामकाजी भुजुले आफूहरूले अनुसन्धानमा सघाउने बताए ।