दीर्घ बहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिका–६ नर्कुको आयोजनामा बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“हामी सबै लागौं, बाल विवाह अन्त्य गरौं” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा मालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूले मात्र सहभागिता जनाएका थिए।
प्रतियोगितामा प्रथमस्थान खगराज शाहीले हासिल गर्न सफल भए भने द्वितीय र तृतीय क्रमशः रेजिना शाही र भूमिका शाही भए ।
प्रतियोगिता विद्यालयकाे सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले बाल विवाहका कारण सिर्जना हुने शैक्षिक, स्वास्थ्य, सामाजिक र आर्थिक असरबारे धारणा राख्दै सचेतनामूलक सन्देश प्रस्तुत गरेका थिए।
कार्यक्रमको सभापतित्व वडा अध्यक्ष नरेन्द्र बहादुर शाहीले गरेका थिए भने प्रमुख अतिथि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु मरिक यादव थिए ।
प्रमुख अतिथि यादवले स्वास्थ्य कर्मि भएकाेले किशाेरीहरुमा देखिने विभिन्न किसिमका राेग लाग्न सक्ने उल्लेख गर्दै यसकाे राेकथाम भनेकै बालविवाह न्युनिकरण गर्नु भएको धारणा राखे ।
कार्यक्रममा अर्का वक्ता अस्थायी प्रहरी चौकि इन्चार्ज गंगा बहादुर चन्दले वडामा वर्षभरि पाँच प्रकारका घटना — जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद — दर्ता हुने जानकारी दिए। उनले उमेर नपुगी विवाह गर्ने प्रवृत्तिका कारण नवजात शिशुलाई पोषण भत्ता कार्यक्रममा समावेश गर्न समस्या हुने, किशोरीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने र उनीहरूको शैक्षिक यात्रा अवरुद्ध हुने जस्ता विषयमा चिन्ता व्यक्त गरे भने यस्ताे अबस्थामा कानुनी झमेलामा पनि पर्ने चतावनी दिए ।
प्रतियोगितामा उत्कृष्ट विचार प्रस्तुत गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, सुरक्षा निकायका प्रतिनिधि र समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।