राजेशमान मानन्धर, भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित ‘ट्राफिक सचेतना कक्ष’को सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका छन् ।
सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ६ स्थित कार्यालय परिसरमा निर्मित सचेतना कक्षको बिहीबार प्रमुख थापाले उद्घाटन गरेका हुन् ।
सो कक्ष उद्घाटन गर्दै नगर प्रमुख थापाले ट्राफिक कार्यालयले सचेतना कक्ष निर्माणका लागि आग्रह गरेको दुई महिनामै बजेट व्यबस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको बताएका छन् ।
ट्राफिक नियमबारे सचेत गराउन कक्ष आवश्यक भएको भन्ने सुन्नासाथ आफूले यसलाई प्राथमिकतापूर्वक कार्यपालिकामा राखेको र बजेट ब्यवस्था भएको उनको भनाइ छ ।
दुर्घटना न्यूनिकरणमा सचेतना कक्षले महत्त्वपूर्ण काम गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।
सो अवसरमा नगर प्रमुख थापाले ट्राफिक प्रहरीलाई सचेतना कक्ष निर्माणमा जस्तै नगरपालिकाले नापी कार्यालयलाई नक्सा डिजिटलाइजेन गरि व्यबस्थित गर्न, मालपोल कार्यालयलाई फाइल व्यबस्थापन गर्न त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरलगायत बिभिन्न सरकारी निकायलाई पनि आवश्यक सहयोग गर्दै आएको जानकारी गराए ।
सूर्यविनायक नगरपालिकाको ८ लाख लागतमा सचेतना कक्ष बनेको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताएका छन् ।
ट्राफिक कार्वाहीमा परेका दैनिक १ सय देखि १ सय ५० जनासम्म चालकलाई सचेतना कक्षा लिने गरेको बताउँदै प्रहरी निरीक्षक खत्रीले चालू आ.ब.को साउनदेखि चैतसम्म १६ हजार ३ सय १३ जनाले सचेतना कक्षा लिएको जानकारी गराएका छन् ।
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई जरिवानासंगै अनिवार्य १ घण्टा सचेतना कक्षामा सहभागी हुनुपर्ने नियम लगाएको छ । सोही अनुरुप २०८० साल असार ३ गतेदेखि भक्तपुरमै ट्राफिक समेतना कक्षा संचालन हुदै आएको हो ।
टेण्ट खडा गरी कक्षा लिदैँ आएकोमा स्थानीय सरकारको सहयोगले स्तरीय एक कोठा निर्माण भएको प्रति भक्तपुर प्रहरी प्रमुख रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले सन्तोष व्यक्त गरेका छन् ।