कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् ।

उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह भएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले भ्रामक सूचनाको भ्रममा नपर्न आग्रह गर्दै बोर्डको वेबसाइट (https://neb.gov.np) बाट आधिकारिक सूचनाको पुस्ट्याई गर्न आग्रह समेत गरेका छन् ।

यस अघि सार्वजनिक परीक्षा तालिका अनुसार नै परीक्षा हुने र त्यसमा कुनै परिवर्तन नभएको उनको भनाइ छ । उनले परीक्षा केन्द्रहरु पनि पूर्वनिर्धारित नै रहेका र तीनका कुनै परिवर्तन नगरिएको पुष्टि गरेका छन् ।

परीक्षा संचालनमा संलग्न सबै निकायलाई पत्राचार गरिसकिएको र पूर्व तयारी सम्पूर्णरुपले पूरा भैसकेको अवस्थामा नेपाल शिक्षक महासंघको आन्दोलन समेत स्थगित भएकोले परीक्षा संचालनमा कुनै समस्या नरहेको परीक्षा नियन्त्रक शर्माले प्रष्ट पारे ।

परीक्षा नियन्त्रक शर्माले परीक्षालाई ब्यवस्थित र मर्यादित बनाउन आवश्यक सहयोगका लागि सबैसँग अपिल समेत गरेका छन् ।

बैशाख ११ गतेबाट शुरु गर्ने भनिएको कक्षा १२ को परीक्षा यस अघि शिक्षक आन्दोलनका कारण अन्तिम समयमा सरेर बैशाख २१ गतेबाट शुरु गर्नेगरी तालिका सार्वजनिक भएको छ ।

सो परीक्षा जेठ २ गते सम्म चल्ने परीक्षाका उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले बताएका छन् । परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सामेल हुने उपनियन्त्रक घिमिरेले जानकारी गराए ।

यो पनि हेर्नुस् ।