भक्तपुर । दीप श्रेष्ठलाई नसुन्ने मानिस कमै होलान । नेपाली संगीतका सुप्रसिद्ध गायक तथा संगीतकार श्रेष्ठ आफ्ना कालजयी गीत सुनाउन भक्तपुर आउने भएका छन् ।
बैशाख २० गते शनिबार श्रेष्ठले भक्तपुरमा एकल गायन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको आयोजक भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए ।
सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने सो कार्यक्रममा वरिष्ठ गायक एवं संगीतकार श्रेष्ठले प्रत्यक्ष गीत संगीत पस्कने छन् । कार्यक्रममा उनले एक दर्जन बढी आफ्ना लोकप्रिय प्रस्तुती पस्कने गायक रोशनराज धौभडेलले जानकारी गराए ।
कार्यक्रमलाई लिएर ७५ वर्षिय गायक श्रेष्ठ पनि साह्रै हौसिएका छन् । “भक्तपुरमा गीत संगीतका पारखी देखेको छु, भक्तपुरमा गीत गाउने मेरो धेरै अघिको इच्छा पूरा हुने कुराले उत्साहित छु ।” पत्रकार सम्मेलनमा उनले भने ।
कार्यक्रममा म पथ्थरको देवता होइन, बितेका कुरा, कति कमजोर रहेछ भाग्य, हर रात सपनिमा ऐठन हुन्छ,तिमी टाढा हुन्छौ जति,मेरा आँखाहरूमा चाह अल्झिँदा, साँझ भइसकेछ, हुँ यात्री एउटा, म त दूर देखि आँए ! जस्ता उनका दर्जन बढी कालजयी गीत प्रस्तुत हुने बताइएको छ ।
कार्यक्रमलाई भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सले संयुक्त आयोजना गर्ने आइतबार पत्रकार सम्मेलनमा बताइएको हो । सो अवसरमा भक्तपुरको रैथाने खाना र उत्पादनले पनि आगन्तुकलाई स्वागत गर्ने आयोजकको तयारी छ ।