उपप्रमुख श्रेष्ठको शल्यक्रिया सफल

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठको पित्तथैलीकाे शल्यक्रिया गरिएको छ । शुक्रबार शल्यक्रिया सम्पन्न भएको हो ।

उनको शल्यक्रिया सफल भएको र अहिले पोस्ट वार्डमा रही उनी स्वास्थ्य लाभ गरिरहेका उनका स्वकीय सचिव सचिन बज्राचार्यले बताए ।

माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरपालिकाको उपप्रमुख श्रेष्ठ तीन महिनादेखि पित्तथैलीमा पत्थरीको समस्याले ग्रसित रहेका थिए ।

असाध्यै पेट दुख्ने समस्या भएपछि गत एक महिनादेखि भने उनी नगरपालिकामा समेत उपस्थित हुन सकेका थिएनन् । त्यही बेला खुट्टामा समेत चोट थपिएपछि उनको शल्यक्रिया गर्ने समय सरेको थियो ।

सचिवालयले स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार पनि प्रकट गरेको छ । शल्यक्रिया पछि उपप्रमुख श्रेष्ठको अवस्था सामान्य रहेको र चिकित्सकले भेटघाट नगर्न भनेकाले स्वास्थ्य लाभको कामनाका लागि अस्पतालमा नआउन पनि स्वकीय सचिव सचिन बज्राचार्यले अनुरोध गरेका छन् ।