बिस्कामा राजनीतिक नारावाजी गर्न निषेध, निगरानीमा राखेर कार्वाही गर्ने सिडिओको चेतावनी

भक्तपुर । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा राजनीतिक नारावाजी, गालीगलौज नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले चेतावनी दिएको छ ।
 
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल आफैंले आइतबार एक सूचना जारी गर्दै सो चेतावनी दिएका हुन् । प्रायः यस्ता सूचना सहायक प्रमुख जिल्ला अधिकारीले जारी गर्ने प्रचलन रहेपनि यो सूचना भने प्रमुख जिल्ला अधिकारी आफैंले जारी गर्नुलाई विशेष महत्वका साथ हेरिएको छ ।
 
सूचनामा जात्रामा राजनीतिक उदेश्यले अभिप्रेरित भई कुनैपनि किसिमको राजनीतिक नाराबाजी र कसैप्रति लक्षित गाली गलौज नगर्न चेतावनी दिइएको हो ।
 
हजारौं मानिसको उपस्थिति रहने यो पर्वमा केही मानिसहरूले सरकार र प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेपछि जिल्ला प्रशासन कार्यालयले चेतावनीपूर्ण सूचना जारी गर्नुपरेको बताइएको छ ।
 
 
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख रहेका एसपी माधव बुढाथोकीले बिस्कामा ८ सय बढी प्रहरी परिचालित भएका र ३९ वटा सिसी क्यामेरा जडान गरिएका जानकारी गराउँदै बिस्काको मर्यादा बिपरित उछृङ्खल गतिविधि गर्ने जोकोहीलाई निगरानीमा राखी बिस्कापछि पनि कानुनी दायरामा ल्याउने दावी गरेका छन् ।
 
यसैबीच, आइतबार अपराह्न बिस्का जात्रा चल्दैगर्दा भैरवनाथको रथ तानातान गर्नेक्रममा भाचिएको छ । यसले कुनै मानवीय क्षती भने गरेको छैन । मर्मत सम्भारको काम भैरहेको र साँझ सम्ममा रथ बनिसक्ने भक्तपुर नगरपालिकाले जनाएको छ ।
 
भक्तपुरमा बिहीबारबाट शुरु बिस्का जात्रा ८ रात ९ दिन सम्म मनाइने गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथलाई दुई टोलका मानिसले दुई तिर तानातान गर्नु नै यो पर्वको आकर्षण हो ।
 
यसका अतिरिक्त ल्योसिं (लिङ्गो) उभ्याइने र ढाल्ने तथा टोल टोलमा निकालिने देवीदेवताका खटले बिस्कालाई थप आकर्षण थप्ने गर्दछ ।