प्याब्सनको केन्द्रीय र प्रदेश पदाधिकारीलाई भक्तपुरमा सम्मान

भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) को जिल्ला कार्यसमिति भक्तपुरले १६औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष, पदाधिकारीहरू तथा बागमती प्रदेश प्याब्सनको चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूसहित प्रदेश अन्तर्गतका नवनिर्वाचित जिल्ला अध्यक्षहरूलाई समेत बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

भक्तपुरको पलाँसेस्थित काठमाडौँ फन भ्यालीमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

केन्द्रीय प्याब्सनमा भक्तपुरको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष पदमा दीपिका रिमाल थापाको नेतृत्वमा आधा दर्जन नेताहरू पुगेका छन् । जसमा भक्तपुरबाटै केन्द्रीय उपमहासचिवमा भुवललाल श्रेष्ठ र कोषाध्यक्षमा गणेशबाबु पोखरेल पुगेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा चन्द्र अधिकारी र सुरेन्द्र तुबन्जा श्रेष्ठ पनि भक्तपुरबाटै भएका जिल्ला अध्यक्ष राजन कसपालले जनाएका छन् ।

प्रदेश प्याब्सनमा पनि भक्तपुरको नेतृत्व गर्दै वरिष्ठ उपाध्यक्ष पदमा सानुराजा कार्की रहेका जिल्ला अध्यक्ष कसपालले जानकारी गराए । प्रदेश कार्यसमितिमा भने भक्तपुरबाट कार्की एक्ला प्रतिनिधि हुन् ।

अग्रजको सम्मान तथा आपसी सद्भाव र समन्वय बढाउने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष कसपालको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्याब्सन भक्तपुरको वार्षिक कार्ययोजना प्रस्तुतसमेत गरिएको थियो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्णप्रसाद अधिकारीले भक्तपुर शाखाको सम्मानले थप जिम्मेवारी थपिदिएको बताए ।

आफू सदस्य विद्यालयको हितमा लागिरहने भन्दै उनले नीतिगतरुपमा विद्यालयको सुरक्षा, शिक्षकको हकहित र विद्यार्थीको शैक्षिक उपलब्धि आफ्नो प्रमुख प्राथमिकता रहने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले निजी क्षेत्रले शिक्षा बिकासमा पुर्याएको योगदान बिर्सन नहुने बताए ।

उनले निजी विद्यालय संचालकको लगानीको सुरक्षा हुने बिश्वास दिलाउँदै सामुदायिक विद्यालयलाई पनि अब्बल बनाउन प्याब्सनले आफ्नो अनुभव, शिप र योग्यता बाढ्नुपर्ने आवश्यकता औल्याए ।

भक्तपुरको सूर्यविनायक क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका मन्त्री थापाले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।