राजधानीमा जारी शिक्षक आन्दोलनप्रति माओवादी केन्द्र बागमती प्रदेश समितिको ऐक्यबद्धता

भक्तपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा जारी शिक्षक आन्दोलन प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ ।

प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आइतबार ऐक्यबद्धता अपिल सार्वजनिक गर्दै शिक्षक आन्दोलनप्रति पार्टी प्रदेश समितिको तर्फबाट ऐक्यबद्धता प्रकट गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले गत वर्षको असोजमा शिक्षक महासंघसंग गरेको सहमति कार्यान्वयन गर्दै शिक्षा ऐनमार्फत त्यसलाई सस्थागत गर्न बागमती प्रदेश समितिले अपिलमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

तत्काल वार्ता टोली गठन गरी बिगतका सहमतिको सम्मान र सम्बोधन गर्दै  वार्ता र संवाद थाल्न तथा शिक्षा ऐन जारी गर्ने प्रक्रिया शिघ्र शुरु गर्न माओवादी केन्द्रको बागमती प्रदेेश समितिले माग गरेको छ ।

अध्यक्ष सरल सहयात्री पौडेलले जारी गरेको अपिलमा आन्दोलनलाई बेवास्ता गरी बिकृत बनाउन खोजे परिणाम अप्रिय हुनसक्ने र त्यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी समेत दिइएको छ ।

सरकारसंग गरिएका सहमति कार्यान्वयन र शिघ्र विद्यालय शिक्षा ऐनको माग गर्दै  गत चैत २० गते देखि सामुदायिक विद्यालयका हजारौं शिक्षक कर्मचारी काठमाडौ केन्द्रीत अनिश्चितकालीन सडक आन्दोलनमा रहेका छन् । 

आइतबार पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको विशेष अधिवेशन बोलाएर भएपनि शिक्षा ऐन ल्याउनुपर्ने र आन्दोलनरत शिक्षकलाई न्याय गर्नुपर्ने अभिव्यक्ति दिएपछि शिक्षक आन्दोलन नयाँ उचाइमा पुगेको छ ।

यसैबीच, माओवादी केन्द्रको बागमती प्रदेश समितिले जारी गरेको ऐक्यबद्धता अपिललाई विशेष अर्थमा हेरिएको छ ।

हेर्नुस् ऐक्यबद्धता अपिल