नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षाका सचिव अष्ट लामाको असामयिक निधन

भक्तपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन, शिक्षा विभागीय कार्यसमितिका सचिव एवं सानोठिमीस्थित शैक्षिक गुणस्तर मापन केन्द्रका शाखा अधिकृत अष्ट लामाको असामयिक निधन भएको छ ।

एक साता अघि पिट्युटरी ग्लाण्डको शल्यक्रियाका लागि उनी काठमाडौको ब्लुक्रस अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएको जानकारी गराएको अस्पतालले उनलाई आइसीयुबाट निकालेन, उल्टै भेन्टिलेटरमा राख्नुपर्ने भयो भन्दै २ दिन अघि मेडिसिटि अस्पतालमा रिफर गरिदियो ।

भेन्टिलेटरमा राखिएको मेडिसिटि अस्पतालमै बिहीवार साँझ लामाको असामयिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

अस्पताल भर्ना हुनु अघि उनले सामाजिक संजालमा लेखेका थिए – पिट्यूटरी ग्रन्थिको शल्यक्रिया गर्नुपर्ने भयो। जीवन कहिलेकाहीँ अनपेक्षित मोडमा आउँछ, तर भाग्यले समयमै खबर दियो, धन्य छु!,
अहिले Blue Cross Hospital मा भर्ना भएको छु, अपरेशनको तयारी हुँदैछ। डर छैन, केवल आशा छ। चिन्ता होइन, केवल विश्वास छ। भगवानको कृपा, तपाईंहरूको माया, र मेरो संकल्पसँगै यो यात्रा पार गर्नेछु। छिट्टै स्वस्थ भएर फर्कन्छु—अझ बलियो, अझ आशावादी छु ।”

आशा र बिश्वाससहित अस्पताल गएका लामा नफ़र्किएपछि उनका परिवार, आफन्त, साथीभाई र छरछिमेकी शोकमा छन् । काभ्रे स्थायी घर भएका अष्ट परिवारसहित भक्तपुरमा बस्दै आएका थिए । हसिला र मिजासिला स्वभावका लामा सेवाग्राहीका बीच पनि प्रिय रहने गर्दथे ।

उनको पार्थिव शरीरलाई शुक्रवार बिहान स्वयम्भूस्थित घाटमा धार्मिक विधिबाट अन्त्येष्टि कर्म गरिने बताइएको छ ।